‘लाज शरणम्’ले ल्यायो ‘स्टार स्किम’, विजेतालाई मोबाइल उपहार

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र योजना ‘स्टार स्किम अवसर’को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत चलचित्रका शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

निर्माण पक्षका अनुसार, सहभागीहरुले लोकपप सँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागिताका लागि यी पाँच विधामध्ये कुनै पनि विधा छान्न सकिने बताइएको छ। सहभागीहरुले चलचित्र ‘लाज शरणम्’को इमेल [email protected]  मा पाठाउन सक्नेछन् ।

प्रतियोगिहरुले तयार पारेका भिडियोहरु ‘लाज शरणम्’को आधिकारिक टिकटक अकाउन्टमा अपलोड गरिनेछ। निर्माण टिमले भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ । विजेताले आकर्षक मोबाइल पाउनेछन् ।

यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहनेछ।

‘लाज शरणम्’ले केही समयअघि सार्वजनिक तीनवटा पोस्टरमार्फत आफ्नो कथाको झलक देखाएको थियो । अन्य सामाग्री नआउँदै चर्चा पाएको छ । जसले अब आउने टिजर र ट्रेलर लगाएताका सामाग्रीलाई प्रतीक्षित बनाएको छ ।

वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।