‘दुखी आत्मा’ को ‘ब्रेकअप कविता’ सार्वजनिक: माया, तिमी यसलाई एक घटना सम्झ…

काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘दुखी आत्मा’ले आफ्नो पहिलो कविता ‘ब्रेकअप कविता’ सार्वजनिक गरेको छ । फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा समावेश १० वटा कविताहरू मध्य पहिलो कविता सार्वजनिक गरेको हो ।

‘माया, तिमी यसलाई एक घटना सम्झ।
विन्ती यसलाई दुर्घटना नसम्झ।
सम्झ..सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो।’
भित्र-भित्रै धमिराले खाइरहेको रुख जस्तो प्रेम पालेर….

यो सार्वजनिक गरिएको कविताको एक अंश हो, १० वटै कविता कवि श्रवण मुकारुङले लेखेका हुन् ।

मुकारुङको यो कविताले चलचित्रप्रति दर्शकहरूको ध्यान खिच्न सफल भएको छ । यो सिनेमालाई निर्माणपक्षले गहन साहित्यिक र भावनात्मक यात्रा बनाउन खोजेको छ ।

सार्वजनिक गरिएको भिडियोमा प्रमुख पात्र दयाहाङ राई र आँचल शर्मा देखिन्छन् । दयाहाङले आँचलको अगाडि बसेर कविता सुनाइरहेका छन्, जसलाई आँचल गहिरो ध्यान दिएर सुन्दैछिन् । यो दृश्यले दर्शकहरूलाई सिनेमामा दयाहाङ कविको भूमिकामा रहेको संकेत दिन्छ ।

क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो चलचित्रलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता सुदिप ढकाल हुन् भने छायांकन आलोक शुक्ला र सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।

यस सिनेमामा मुख्य भूमिका निभाउने कलाकारहरूमा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्मलाई निर्माणपक्षले ‘एडल्ट ड्रामा’ भनेर परिभाषित गरेको छ । टिजर सार्वजनिक भएपछि सिनेमाको चर्चा झनै चुलिएको छ।

साहित्यिक प्रेमिल भावनामा आधारित यस सिनेमाले अहिले दर्शकहरूको चासो अत्यधिक बटुलिरहेको छ । दयाहाङ र आँचलको जोडी, कविताको गहिरो भाव र गहन विषयवस्तुले ‘दुखी आत्मा’लाई आगामी हप्ताहरूमा सर्वाधिक प्रतिक्षित फिल्मको रूपमा उभ्याएको छ ।

अब, यो सिनेमाले प्रदर्शनमा कस्तो सफलता हासिल गर्ला भन्ने कुरा हेर्न बाँकी छ । ‘दुखी आत्मा’ २ फागुनबाट हलहरूमा प्रदर्शन हुँदैछ ।