‘वरिष्ठ बलराम’ निर्देशन गर्दै सुरेन्द्र, मुख्य भूमिकामा दयाहाङ र विजय

काठमाडौं । सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको चलचित्र फ्लोरमा जाने तयारीमा छ । लामो समयदेखि सिनेमा सम्पादन गर्दै आएका पौडेलले चलचित्र ‘बाबरी’पछि निर्देशन गर्न लागे नयाँ सिनेमा ‘वरिष्ठ बलराम’ फ्लोरमा जान लागेको हो ।

आर्टखबरलाई प्राप्त जानकारी अनुसार यो चलचित्र फागुनको पहिलो साताबाट छायाकंनमा जाने तयारीमा रहेको बुझिएको छ । सोसल ड्रामा बन्ने सिनेमा ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् ।

दयाहाङको अपोजिटमा को हुने निर्माणपक्षले केही पनि खुलाएको छैन । अन्य कलाकारको लाइनअप र प्राविधिक टोली पछि सार्वजनिक गर्दै जाने तयारीमा निर्माणपक्ष छ ।

अलटाइम ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ पौडेलले सम्पादन गरेको चलचित्र थियो । नेपाली चलचित्र उद्योगमा पौडेलले कुशल सम्पादकको छवि बनाएका छन् ।

दयाहाङ र विजय बरालको बलियो केमेस्ट्री दर्शकले ‘वरिष्ठ बलराम’मा देख्न पाउने बताइएको छ ।

सुरुमा ‘वरिष्ठ बलराम’ रोहित अधिकारीले निर्माण गर्ने बताइए पनि उनी यो प्रोजेक्टबाट पछि हटिसकेका छन् । यसपछि को निर्माता भित्रिए प्रष्ट भइसकेको छैन ।