पहिचानको विषयलाई जोड दिएको ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर

काठमाडौं । चर्चित निर्देशक दीपेन्द्र गौचन करिब दुई दशकपछि चलचित्र निर्देशनमा फर्किएका छन् । लामो समय फिल्मी क्षेत्रबाट बाहिर बसेका गौचनले ‘मिसिङ् : केटी हराएको सूचना’ चलचित्र घोषणा गर्दै फिल्मी क्षेत्रमा फर्किएका हुन् । जसको शुक्रबार नयाँ ट्रेलर सार्वजनिक गरिएको छ ।
करिब ३० वर्षअघि टेलिचलचित्र ‘उजेली’बाट चर्चामा आएका निर्देशक गौचन निर्देशित चलचित्रको १ मिनेट ५६ सेकेण्डको ट्रेलर चलचित्रका शीर्ष पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरिपरि घुमेको छ ।
आउँदो माघ ११ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ट्रेलरमा पहाडी मूलकी सृष्टि श्रेष्ठलाई मधेसी मूलका नाजिर हुसेनले कोठामा बन्धक बनाएर राखेको दृश्यबाट कथा सुरु भएको देखिन्छ । जहाँ भेट भएपछि एउटा विन्दूमा पहिचानको विषयले उत्पन्न हुने परिस्थितिलाई चित्रण गरेको छ ।
सार्वजनिक ट्रेलरमा नाजिर र सृष्टिको नृत्यका साथै पहिचान र संस्कृतिका विषयमा गहिरो सन्देश प्रस्तुत गरिएको छ । नाजिरले नेपाली समाजमा अझै पनि तराईवासीलाई भारतीयका रूपमा चित्रण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् ।
मिथिला संस्कृतिको झल्को दिने चलचित्रमा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा देखिएका छन् ।
ट्राई सिटी पिक्चर्सको प्रस्तुतिमा बनेको यो सिनेमाको लेखन निर्देशन दीपेन्द्र गौचनकै रहेको छ । चलचित्रको कार्यकारी निर्माता नकिम उद्दिन हुन् भने सह–कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, र राजीव थापा लगायत छन् । सहायक निर्मातामा अमितेष शाह छन् ।
‘मिसिङ् : केटी हराएको सूचना’मा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललिता देवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, र ओमप्रकाश कर्णको अभिनय रहेको छ । अमितेष शाहले विशेष भूमिकामा देखिनेछन् ।
चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन, र दीपेन्द्र गौचन, प्रवेश मल्लिक तथा करुण थापाको संगीत रहेको छ । चलचित्रमा रामजी लामिछाने र राजीव कर्णले कोरियोग्राफी गरेका छन् ।
यो सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । चलचित्रको ट्रेलरले दर्शकहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ ।