कलेजका दिनहरूको झझल्को दिलाउने ‘होस्टेल-३’को ‘टिक टिक टिक’

काठमाडौं । चलचित्र ‘होस्टेल ३’ को गीत ‘टिक टिक टिक’ सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको यस गीतमा सिनेमाका प्रमुख कलाकारहरूको आकर्षक नृत्य देख्न पाइन्छ ।

आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको गीतमा अलमोडा राणा उप्रेती को शब्द, सङ्गीत र स्वर रहेको छ भने उनलाई सन्तोष राणाले र्‍याप भोकलमा साथ दिएका छन् ।

प्रविण सिंह द्वारा कोरियोग्राफ गरिएको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् ।

कलेज जीवनका उतारचढाव, संघर्ष, र मित्रताका भावना उजागर गरेको गीतको बोल ‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ रहेको छ । यसले दर्शकलाई आफ्ना पुराना कलेजका दिनहरूको झझल्को दिलाउने विश्वास गरिएको छ ।

‘होस्टेल ३’ चर्चित नेपाली चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो भाग हो। यो चलचित्र कलेज जीवनका संघर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा प्रस्तुत गर्छ । चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन् भने स्क्रिप्ट माधव शर्मा ले लेखेका हुन् ।

सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण भएको चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ र आशिष् पुरुष लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

चलचित्र निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् । शङ्कर कोइराला कार्यकारी निर्माता रहेको सिनेमाका सह निर्माता शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक हुन् । चलचित्रका सङ्गीतकार अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन् ।

यो चलचित्रका नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।