छिरोलिएको कथामा निश्चलको इन्ट्रीले बढायो कौतुहल

काठमाडौं । चलचित्र ‘एक्टर: टेक वन’को ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । लभरब्वाइका रुपमा सिनेमाका मुख्य पात्र प्रदीप खड्कालाई प्रष्ट देखाइएको छ । उनी एकसाथ आना शर्मा र दिव्या रायमाझीसँग डेट गरिरहेका छन् ।
आमाले प्रदीपलाई धेरै महत्वाकांक्षी नहुन सुझाइहेकी छन् । उनको बाटोमा अवरोधक पात्रका रूपमा राजबल्लभ कोइराला छन् । यसकै वरिपरि चलचित्रको कथा घुम्ने अनुमान लगाउन सकिन्छ ।
राजबल्लभ प्रदीपको बाटोमा अवरोध खडा गर्ने पात्रका रुपमा देखिएका छन् । उनी असली एक्टर आफू भएको बताउँदै मुख्य योजनाकारका रूपमा देखिएका छन् ।
प्रदीप गिटार बोकेर हिँड्छन् । पाइलटको ड्रेसमा एयरपोर्टमा एयर होस्टेजका साथमा छन् । यता लभरव्वाइका रुपमा छन् । उनको बाटो छेक्न राजबल्लभ कस्सिएका छन् । एम्बुलेन्समा सुन तस्करी भइरहेको छ । दिब्यदेवले आफूसँग योजना रहेको प्रदीपलाई बताइरहेका छन् । प्रदीपमाथि आक्रमण भएको छ ।
कथा सुन तस्करीको हो कि लभस्टोरी भन्ने प्रष्ट छैन । निर्देशक तथा कलाकार निश्चल बस्नेतको इन्ट्रीले दर्शकलाई रोमाञ्चित बनाउँछ । उनको भूमिका के हो ? सस्पेन्स इन्ट्री छ ।
करिब तीन मिनेट लामो ट्रेलरमा बोलिरहने पात्र छन् । क्यामेरा वर्क राम्रो देखिएको छ । तर, सिनेमेटोग्राफीमा धेरै अपेक्षा गर्ने ठाउँ क्यामेरा वर्कले देखाएको छैन ।
स्टोरी टेलिङ पुरानै रहेको संकेत ट्रेलरले गरेको छ । साउन्डमा ट्रेलर बलियो देखिँदैन । लुक्समा राजबल्लभलाई सुहाएको छ । प्रदीप फिट देखिन्छन् । नायिकाका रुपमा रहेका पात्र शो पिसका रुपमा मात्रै देखिएका छन् ।
निश्चलको इन्ट्रिले सिनेमा रोमाञ्चक छ कि भन्ने लाग्छ । तर त्यो देखाइएको छैन । समग्रमा ट्रेलर मास अपिलिङ नै छ । तर दृश्य, संवाद र स्टोरी नखुलाए पनि दिमागमा कौतुहलता सिर्जना गरिहाल्ने के छ भनेर चाहिँ सोच्नु पर्छ ।
ट्रेलरमा जसरी प्रदीपको पात्र छरिएको छ । चलचित्रमा भने त्यस्तो नरहेको पनि हुनसक्छ । कथा के भन्न खोजेको हो, त्यसमा चलचित्र केन्द्रित होस्, कथा नबरालियोस् ।
माघ १६ गते रिलिज हुने चलचित्र चलचित्र ‘एक्टर: टेक वन’लाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ ।
अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति रहेको सिनेमाका निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।
यो चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।