‘डल्लेले इन्ट्री मार्याे’मा बले, लिए ३५ लाख पारिश्रमीक

काठमाडौं । चर्चित हास्य अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । उनी राजु गिरीको निर्देशनमा बन्न लागेको सिनेमा ‘डल्लेले इन्ट्री मार्याे’ मा अनुबन्धित भएका हुन् ।

सोसियल कमेडी जनरामा आधारित हुने यो चलचित्रको शीर्ष भूमिकामा सागर अनुबन्धित भए छन् । निर्माण पक्षले जानकारी गराए अनसार उनी यस सिनेमा ‘डल्ले’ नामक युवकको भूमिकामा देखिनेछन् ।

शुक्रबार सागर र निर्माताबीच कागजी सम्झौता भएको हो । उनी शीर्ष भूमिकामा अनुबन्धितसँगै यस चलचित्रबाट उनले पारिश्रमिक ३५ लाख रुपैयाँ लिएका छन् ।

सागरले कथावस्तु र आफ्नो चरित्र मन परेपछि चलचित्रमा आबद्ध भएको जनाएका छन् ।

दर्शकमाझ लोकप्रिय कलाकारका रूपमा स्थापित सागर विशेष गरी हास्य टेलिश्रृंखला ‘सक्किगो नि’ बाट चर्चामा आएका हुन् । ठूलो पर्दाको यात्रा उनले चलचित्र ‘लोफर’ बाट सुरु गरेका थिए भने त्यसपछि सन् २०१८ मा रिलिज भएको ‘हैरान’पछि उनले ६ वर्ष कुनै सिनेमा गरेनन् । त्यस यता उनले धेरै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

निर्देशक गिरीले सागरको अभिनय कौशल, बजारको माग र स्क्रिप्टको आवश्यकतालाई ध्यानमा राख्दै उनलाई शीर्ष भूमिकामा लिइएको बताए । ‘स्क्रिप्टको माग, क्यारेक्टरमा फिट, कलाकारिता तथा दर्शकमाझ उहाँको क्रेजको तुलनामा उहाँलाई दिइएको पारिश्रमीक कमै होजस्तो लाग्छ’, निर्देशक गिरी भन्छन् ।

उषा फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन आगामी फागुन महिनाको अन्तिमदेखि सुरु गरिने बताइएको छ । लक्ष्मण सुवेदीको लेखन रहेको सिनेमालाई सावित्रा चिलुवाल, निर्मता बस्नेत, आशिष र आदर्श बस्नेतले निर्माण गर्दैछन् ।

चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’का अन्य कलाकार तथा प्राविधिक चयनको प्रक्रिया केही साताभित्र टुंगो लगाइने निर्माण टिमले बताइएको छ ।

सागर प्रमुख भूमिकामा रहेको अर्को चलचित्र ‘लाज शरणम’ आगामी १४ फागुनबाट विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ भने उनी चाँडै आफैं सिनेमा निर्माण गर्ने योजनामा समेत छन् ।