चलचित्रलाई रहर पूरा गर्ने भर्‍याङ नबनाऊ

गएको शुक्रबार दुईवटा चलचित्र रिलिज भए । चलचित्र ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’ । यी चलचित्र रिलिज भएको कति दर्शकले थाहा पाए भन्ने प्रश्न आफैँमा महत्वपूर्ण छ । त्यसअघि ‘बम बहादुर’ र ‘देववाणी’ रिलिज भएका थिए । ती चलचित्र पनि रिलिज भएको र उत्रिएको दर्शकलाई पत्तै भएन ।

यतिसम्म कि यीमध्ये केही चलचित्रले केही मल्टिप्लेक्समा सुरुमै शो पाएनन् । कम्तीमा एक वर्ष लगाएर बनेका चलचित्रमा ठूलो मेहनत हुन्छ । ठूलो लगानी हुन्छ । त्यो भन्दा पनि महत्वको कुरा कतिको सपना हुन्छ । यी सबै कुरा बालुवामा पानी भइरहेको छ ।

केही चलचित्रले जम्मा ९ लाख र ६ लाख कलेक्सन गरेको समाचार आए । यसले अवास्था कस्तो दयनीय छ भन्ने देखाउँछ । लगानी कसरी डुबिरहेको छ भन्ने संकेत गर्छ ।

यो दयनीय अवस्था कसका कसका कारण आयो र आइरहेको छ भन्ने अर्को प्रश्न होला । राम्रो चलचित्र बनेको भए सिनेमा हलले शो अवश्य दिन्थे । पाएका थोरै शो मै पुगेका दर्शकबाट राम्रो चलचित्र भए वर्ड अफ माउथ राम्रो हुन्थ्यो । त्यसले सिनेमा चल्थ्यो ।

तर, केही समययता कुन दिन कुन चलचित्र रिलिज भयो । कसको निर्देशन थियो । कोको कलाकार थिए । कसले चलचित्रको कथा लेखेका थिए भन्ने नै थाहा भइरहेको छैन ।

एकारित कमजोर प्रचारप्रसार छ । अर्कोतिर कति लहैलहैका भरमा चलचित्र बनिरहेका छन् । कतिले बल्लबल्ल चलचित्र हलसम्म ल्याएका छन् । प्रचार गर्न बजेट छैन । कम्तीमा चलचित्र बनाउन कति बजेट लाग्छ, प्रचार गर्न कति बजेट खर्चिनुपर्छ, कति समयलाग्छ भन्ने अन्दाज पनि हुँदैन भने कसरी राम्रो चलचित्र बन्छ ? प्रचार गर्ने बजेट नै सकियो भन्ने हो भने न्यूनतम जानकारी पनि नहुनेले बनाएको चलचित्र राम्रो हुन्छ भन्ने कसरी अपेक्षा गर्न सकिन्छ ?

यो भन्दा पनि खराब पक्ष आफ्ना छोराछोरी, आफ्ना दिदी बहिनी, साथीलाई हिरोहिरोइन बनाउन चलचित्र बनिरहेका छन् । रहरको लहडले बनेका चलचित्र नराम्रा हुने नै भए । पर्याप्त ज्ञान र सिपको अभावमा गरेको काम नराम्रो नै हुन्छ ।

अर्को सबैभन्दा खराब पक्ष युरोप र अमेरिका जान भिसा लगाउन सहज होस् भनेर चलचित्र बनिरहेका छन् । उद्देश्य नै खराब राखेर बनेका चलचित्र पनि खराब नै हुनु नौलो होइन । उद्देश्य राम्रो राखेर गरिएको काम पो राम्रो हुन्छ । उद्देश्य नै खराब भएपछि राम्रो परिणाम कसरी आउँछ ?

चलचित्र कला हो, चलचित्रको व्यापार राम्रो कलाप्रति दर्शकको मूल्यांकन हो । त्यसैले चलचित्रलाई रहर पूरा गर्ने भर्‍याङ नबनाउँ, धेरै हदसम्म अहिलेका समस्याको समाधान आफैँ हुन्छ ।