‘लाज शरणम्’मा अर्जुन किन ‘पाँडे’को गेटअपमा देखिँदैछन् ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘सक्किगोनि’ टिमबाट यो चलचिमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’लगायत कलाकार छन् । हालसम्म निर्माणपक्षले तीनवटा पोस्टरबाहेक कुनै सामग्री बाहिर ल्याएको छैन ।

पोस्टरमा अर्जुन घिमिरे, सागर लम्साल र हरिष निरौला अटाएका छन् । हरिष र सागर फरक लुक्समा देखिएका छन् । तर, अर्जुन भने ‘सक्किगोनि’कै लुक्समा छन् ।

किन अर्जुन ‘पाँडे’ लुक्समा देखिए त्यो भने उनले प्रष्ट पारेका छैनन् । अरुले लुक्स परिवर्तन गर्दा उनी मात्रै किन ‘पाँडे’ लुक्समा देखिए निर्माण टिमले केही नबताए पनि सिनेमाको पब्लिसिटीका लागि सहज होस् भन्ने उद्देश्यले रहेको जानकारीमा आएको छ ।

रिलिजअघि नेपाल टुरमा जाने योजना बनाइरहेको निर्माणपक्षले देशका विभिन्न सहरबजार पुग्दा अर्जुनको लुक्लले दर्शकको ध्यान खिच्न सहज होस् भनेर उनी ‘पाँडे’कै लुक्समा देखिएको स्रोतले बताएको छ ।

‘लाज शरणम्’ले केही समयअघि सार्वजनिक तीनवटा पोस्टरमार्फत आफ्नो कथाको झलक देखाइसकेको छ । अन्य सामग्री नआउँदै सिनेमाले चर्चा पाएको छ । पोस्टरले आउने टिजर र ट्रेलर लगाएताका सामाग्रीलाई प्रतीक्षित बनाएको छ ।

वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।