महोत्सवलाई चलचित्र प्रचारको मुख्य थलो बनाउँदै कलाकार

काठमाडौं । नेपालमा पछिल्लो समय महोत्सवहरू चलचित्र प्रचारको प्रमुख माध्यम बन्दै गइरहेका छन् । देशका विभिन्न सहरमा आयोजना हुने महोत्सवहरूमा कलाकारको उपस्थितिले रौनक थपेको मात्र छैन, उनीहरूले आफ्ना चलचित्रको प्रचार-प्रसारका लागि यी महोत्सवलाई उपयोग गरिरहेका छन् ।

देशका विभिन्न ठाउँमा हाल महोत्सवको रौनक चलिरहेको छ । यसै अवसरलाई उपयोग गर्दै नेपाली चलचित्र क्षेत्रका कलाकारहरूले दर्शकमाझ आफ्नो चलचित्रको जानकारी पुर्‍याउन सक्रिय भएका छन् । महोत्सवका मञ्चमा नाचगान, गीत प्रस्तुति, सेल्फी सेसन र प्रचार सामग्री वितरणजस्ता गतिविधिहरू गर्दै चलचित्रको चर्चा परिचर्चा गरिरहेका छन् ।

पल शाहको लोकप्रियता र ‘मायावी’को प्रचार
चलचित्र प्रचारमा अग्रपङ्क्तिमा रहेका अभिनेता पल शाहको माग महोत्सवमा उच्च रहेको छ । उनले फागुन १४ गते प्रदर्शनमा आउन लागेको आफ्नो चलचित्र ‘मायावी’को प्रचार गर्न देशका विभिन्न सहरका महोत्सवमा उपस्थिति जनाइरहेका छन् ।

महोत्सवका मञ्चमा पलले दर्शकसँग गीतमा नृत्य गर्ने, सेल्फी खिच्ने र चलचित्रको रिलिज मिति घोषणा गर्दै प्रचार सामग्री वितरण गर्ने काम गरिरहेका छन् । उनले दर्शकहरूलाई ‘मायावी’ हेर्न हलसम्म पुग्ने आग्रह गर्दै, केही दर्शकलाई चलचित्रको नाम लेखिएका टी-शर्टसमेत वितरण गरेका छन् ।

पलले करिब एक दर्जन महोत्सवमा ‘मायावी’को प्रचार गर्नेछन् । पल सँगै ‘मायावी’को टिम नै महोत्सवमा चलचित्रको प्रचार गर्न जाने निर्देशक दिवाकर भट्टराईले बताएका छन् ।

‘एक्टर: टेक वान’ टिमको सक्रियता
अर्कातर्फ अभिनेता प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीको टिम पनि महोत्सवको मञ्चलाई उपयोग गर्न सक्रिय छन् ।

उनीहरू गत बिहीबार नेपालगन्ज, बर्दियाको बाँसगढी र चितवनमा आयोजित महोत्सवमा उपस्थित भई माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘एक्टर: टेक वान’को प्रचार गरे । मञ्चमा दर्शकलाई चलचित्रका गीत र संवाद प्रस्तुत गर्दै उनीहरूले दर्शकहरूसँग प्रत्यक्ष सम्पर्क कायम राखे ।

सलोन बस्नेत र ‘रंगी’को प्रचार
चलचित्र ‘रंगी’का अभिनेता तथा निर्माता सलोन बस्नेतले पनि महोत्सवलाई प्रचारको थलो बनाएका छन् । शनिबार बर्दियाको बाँसगढीमा आयोजित महोत्सवमा उनले फागुन २ गते प्रदर्शनमा आउने ‘रंगी’को प्रचार गरे । महोत्सवमा उपस्थित दर्शकसँग अन्तरक्रिया गर्दै उनले चलचित्रबारे जानकारी गराउनुका साथै दर्शकलाई हलसम्म पुग्न आग्रह गरे ।

महोत्सवमार्फत दर्शकसँग प्रत्यक्ष सम्पर्क गर्न पाउनु, प्रचार-प्रसारको लागत घट्नु र छोटो समयमा धेरै मानिससम्म सन्देश पुर्‍याउन सक्नुजस्ता फाइदाहरूले महोत्सव चलचित्र उद्योगका लागि उत्कृष्ट प्रचार माध्यम बनेको छ । कलाकार र निर्माण टिमले जहाँ महोत्सव हुन्छ, त्यहाँ पुगेर आफ्ना चलचित्रको चर्चा गर्दै दर्शकहरूको मन जित्ने प्रयास गरिरहेका छन् ।

यसरी महोत्सवले केवल मनोरञ्जनको स्रोत बनेको छ, यो नेपाली चलचित्र क्षेत्रका लागि प्रचार-प्रसारको शक्तिशाली थलो पनि बनिरहेको छ ।

ठूला सहरमा हुने महोत्सवमा गरिने सिनेमाको प्रचार प्रभावकारी भए पनि सबै महोत्सव भने प्रभावकारी नहुन सक्छन् ।

कतिपय जिल्लामा हुने महोत्वमा गरिने प्रचारले भने अर्थ राख्ने छैन । धेरै जिल्लामा सिनेमा हल नभएकाले त्यस्ता महोत्सवमा गरिने प्रचारले भने सिनेमाको पब्लिसिटीको खासै अर्थ राख्ने छैन ।