उद्योगी शेखर गोल्छाको लगानीमा चलचित्र ‘परान’, निर्देशन गर्दै ‘काकु’

काठमाडौं । उद्योगी शेखर गोल्छा चलचित्र निर्माणमा होमिने भएका छन् । कथानक चलचित्र निर्माणमा शेखर अग्रसर भएका हुन् ।
उनले चलचित्र ‘परान’मा लगानी गर्ने भएका छन् । यो चलचित्र दीपक आचार्यले निर्देशन गर्दैछन् । यो चलचित्रको कथा पनि दीपक स्वयंले लेखेका छन् ।
‘परान’ बायस्कोप सिनेमाको ब्यानरबाट बन्नेछ । यो चलचित्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । केही दिनमै चलचित्र ‘परान’ निर्माणको घोषणा हुनेछ ।
बायस्कोप सिनेमा कम्पनी घोषणा हुन लागेको हो । रञ्जीत आचार्यको नाममा यो ब्यानर घोषणा हुनेछ । तर, यसबाट बन्ने चलचित्रमा लगानी शेखर गोल्छाको रहनेछ ।
हास्य टेलिचलचित्र ‘सक्किगोनि’मा ‘काकु’को भूमिकामा रहेका कलाकारले छुट्टै ‘परान’ बनाउन लागेका हुन् । ‘सक्किगोनि’ अधिकांश कलाकारले ‘लाज शरणम्’ बनाइरहेका छन् । तर, दीपक एक्लैले ‘परान’ बनाउन लागेका हुन् ।
‘परान’मा प्रवीण खतिवडा, अञ्जना बराइली, नीर शाह, बुद्धि तामाङ, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहनेछ ।
स्रोतका अनुसार यो चलचित्रले बाबु र छोरीको कथा भन्नेछ । बाबुले छोरीका लागि गर्ने सम्झौता र त्यागको कथा यो चलचित्रको मुख्य कथानक हुनेछ ।
उनको यो चलचित्रमार्फत बिजनेस घराना सिनेमा निर्माणमा पुनः होमिन लागेको हो ।