शरीरमा आगो लगाएर सुशीलले गरे स्टन्ट

काठमाडौं । चलचित्र ‘आउट-लः दफा २१९’ एक्सनप्रधान सिनेमा हो । चलचित्रमा एक्सनमा नयाँ पन र आकर्षक दृश्यका लागि निर्माणपक्षले कुनै कसर बाँकी राखेको छैन । एक्सन सिनकै लागि यो चलचित्रले समय र बजेट दुबैमा कुनै कम्प्रमाइज गरेको छैन ।

निर्माणपक्षले दिएको जानकारीअनुसार ‘आउट-लः दफा २१९’ को एउटा सिनका लागि मात्रै ४० लाख रुपैयाँ खर्च गरेको छ । त्यसैले चलचित्रमा नयाँ एक्सनको दृश्य पनि देखिनेछ ।

यही दृश्यका लागि निर्माण टिमले समय लिँदा चलचित्रले नयाँ प्रदर्शन मिति लिनुपर्यो । पूर्वनिर्धारित मितिमा सिनेमा आउन सकेन । असोज २ गते यो चलचित्र प्रदर्शन नहुनुको मुख्य कारण पनि यही नै हो ।

एक्सनमा गरेको भरपुर मेहनत, खर्च गरेको बजेट र मुख्य पात्रले यसमा देखाएको लगाव र एक्सनमा देखिएको आउटपुटका कारण निर्माणपक्षले नायक सुशील श्रेष्ठलाई एक्सन स्टारको ट्याग दिएको छ ।

निर्माणपक्षका अनुसार चलचित्रमा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ ।

‘आउट-लः दफा २१९’ फागुन २९ रिलिज हुँदैछ । विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको यो चलचित्रमा नेपाली सिनेमामा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ ।

रिलिजका लागि पूर्ण रुपमा तयार भएको सिनेमाका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाइ छ ।

टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो चलचित्रमा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारहरुको अभिनय छ ।

चुल्ठे काजीको एक्सन रहेको ‘आउट-लः दफा २१९’मा साहिल खानको सम्पादन नविन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह-निर्माताको रुपमा छन् ।