माघ १७ गतेबाट छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ हुने, ४७ देशका ९८ चलचित्र प्रदर्शन गराइँदै

काठमाडौं । हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट हुने भएको छ ।
मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रको आवेदन परेको र मध्येबाट नेपाल सहित ४७ देशका चलचित्रहरू महोत्सवमा चयन गरिएको जानकारी गराइयो ।
विश्वभरका सांस्कृतिक चलचित्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले माघ १७ गतेदेखि माघ १९ गतेसम्म काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिभलमा नेपालसहित ४७ देशका ९८ चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवका लागि ६० देशका ४०० भन्दा बढी चलचित्रको आवेदन परेकोमा डेढ महिना लामो छनोट प्रक्रियापछि ९८ चलचित्र छनोट गरिएको आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । महोत्सवमा कथानक, लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला, बालबालिका, र मानव अधिकारका चलचित्रहरू समावेश छन् ।
निर्णायकका रूपमा भारत, जर्मनी, बेलायत, क्यानडा, इरान, बहराइन, र रुसका अनुभवी चलचित्रकर्मी सहभागी हुनेछन् । नेपालबाट संगीतकार शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का लगायतका व्यक्तित्व निर्णायकको रूपमा रहनेछन् ।
महोत्सवमा दक्षिण एसिया, पूर्वी एसिया, युरोप, अफ्रिका, अमेरिका, र अष्ट्रेलियाका चलचित्रहरू समावेश छन् । भारत, बङ्गलादेश, चीन, जापान, अमेरिका, फ्रान्स, मोरक्को, दक्षिण अफ्रिकालगायतका मुलुकका चलचित्र प्रदर्शन गरिनेछ ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला र कला प्रदर्शनी हुनेछन् । उद्घाटन समारोह काठमाडौंको दरबारमार्गस्थित क्युएफएक्स सिनेमा राइजिङ मलमा हुने बताइएको छ । दुई दिनसम्म त्यहाँ चलचित्र प्रदर्शन र छलफल हुनेछ भने तीन दिन चलचित्र विकास बोर्डमा प्रदर्शनी, मास्टर क्लास र समापन समारोह हुनेछन् ।
महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकार, र विभिन्न विधामा सर्वोत्कृष्ट चलचित्रहरूलाई पुरस्कृत गरिनेछ । १५ राष्ट्रिय र १५ अन्तर्राष्ट्रिय गरी ३० चलचित्रलाई अवार्ड प्रदान गरिनेछ । साथै, चलचित्र क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिनेछ ।
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलले सांस्कृतिक चलचित्रहरूको प्रवर्द्धनमा योगदान पुर्याउँदै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र मञ्चको रूपमा स्थापित गर्न मद्दत पुर्याउने विश्वास आयोजकले गरेको छ ।