खगेन्द्र र मोहनले पहिलो शट दिएसँगै ‘महाभोज’को छायाकंन सुरु

काठमाडौं । निर्देशक दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्र ‘महाभोज’को छायाकंन सुरु गरिएको छ । सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहने सिनेमाको मंगलबार पोखराको घाचोकबाट छायाकंन सुरु गरिएको हो ।

४५ दिनको छायाकंन तालिकासहित निर्माण सुरु भएको यस चलचित्रको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका थिए ।

यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक राउतले समाजमा हुने विश्वासघात, भ्रष्टाचार र अन्यायविरुद्धको कथामा आधारित चलचित्र बनाउन लागेको बताए । यो राउतको आठौँ निर्देशकीय सिनेमा हो ।

चलचित्र ‘महाभोज’ले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्ने प्रवृत्तिविरुद्ध विद्रोहको स्वर प्रस्तुत गर्नेछ । साथै, नागरिक जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व चलचित्रको केन्द्रमा रहेको उनले बताए ।

चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त रूपमा निर्माण यस चलचित्रका हिमाल कडरिया निर्माता हुन् । सिनेमामा किरण नेपाली र सुदीप ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।

चलचित्रको लेखन विकास सुवेदीले गरेका हुन् भने छायांकन राजेश श्रेष्ठले गरिरहेका छन्। सम्पादन निमेष श्रेष्ठ, ध्वनि डिजाइन उत्तम न्यौपाने, र मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहनेछ ।

चलचित्रको वितरण काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछन् ।