‘मायावी’को गीत ‘सितारा जडेको’मा पल र दीपिकाको विछोड

काठमाडौं । काठमाडौं । चलचित्र ‘मायावी’को तेस्रो गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । दीक्षित पौडेल र समीरा थपलियाको स्वर रहेको गीतमा, शम्भुजित बास्कोटाको संगीत छ । दयाराम पाण्डे र दीवाकर भट्टराईको शब्दरचना छ ।

गीतले माइतीघरबाट अन्मिएर पराइघर जान लागेकी छोरीको बिदाइ कति सकसपूर्ण हुन्छ भनेर देखाएको छ । सँगै आफूले मन पराएकी युवतीलाई अर्काको हातमा सुम्पिनु पर्दाको विछोडको पीडालाई गीतले देखाउने प्रयास गरेको छ ।

विवाहको मण्डपको सेटमा तयार पारिएको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू पल शाह, दीपिका प्रसाई, डेब्यु अभिनेता समीम खान, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठ छन् ।

क्रिएटिभ सिने आट्र्सको व्यानरमा निर्माण भएको आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउनेछ । यो चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाललगायतको पनि अभिनय छ ।

‘मायावी’ दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र हो ।

‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् । मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, शाहिल खानको ट्रेलर, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन रहनेछ ।