दर्शकलाई सिनेमाको निम्तो बाँड्न सातै प्रदेश जाँदै ‘लाज शरणम्’ टिम, यसकारण छ अरुलाईभन्दा सजिलो

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को केही समयपछि पब्लिसिटी सुरु हुँदैछ । पोस्टर सार्वजनिक गर्दै कलाकार र स्टोरीबारे जानकारी दिँदै कौतुहलता सिर्जना गरेको निर्माणपक्ष मास पब्लिसिटीको तयारीमा छ ।

चलचित्र र यसको रिलिजबारे देशभरका दर्शकलाई जानकारी दिन ‘लाज शरणम्’ टिम मोफसलमा निस्किदै छ । सातवटै प्रदेशमा यसका कलाकार जाँदै छन् । जहाँ उनीहरूले केही सामान्य प्रहसन देखाउँदै सिनेमा हेर्न दर्शकलाई निम्तो दिनेछन् ।

मोफसलमा गएर चलचित्रको पब्लिसिटी गर्नु पछिल्लो समय नौलो होइन । अधिकांश ठूला व्यानरमा बन्ने चलचित्र रिलिजपूर्व मोफसल गएर त्यहाँका दर्शकलाई भेट्दै आएका छन् । यसरी गरिएका पब्लिसिटी कति महत्वपूर्ण बने त्यो समीक्षा र आत्मसमीक्षाको विषय हो ।

तर, ‘लाज शरणम्’लाई भने मोफसल गएर गरिने पब्लिसिटीको प्रभाव राम्रो पर्ने निश्चित छ । अरु ब्यानरको भन्दा प्रभावकारी सिद्ध हुने निश्चित छ । किनकी यो चलचित्रमा हास्य टेलिचलचित्र ‘सक्किगोनि’का कलाकार छन् ।

यो टेलिचलचित्र काठमाडौंमा भन्दा मोफसलमा धेरै हेरिने सिरियल हो । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रका दर्शकले धेरै हेरिने सिरियल हो ।

त्यसैले ‘सक्किगोनि’का कलाकार मोफसलमा पुग्दा उनीहरूलाई हेर्न चाहने र मन पराउने फ्यानको ठूलो जमघट हुनसक्छ । आफूले मन पराएका कलाकारले सिनेमा हेर्न आफ्नै गाउँ सहरमा आएर निम्ता दिँदा त्यसलाई सहजै स्वीकारिदिने सम्भावना उच्च रहने सम्भावना हुन्छ ।

‘सक्किगोनि’का लागि अझ यही टेलिसिरियलको गेटअपमा मोफसल पुगे भने ‘लाज शरणम्’को पब्लिसिटी अझै धेरै प्रभावकारी हुनेछ । यसमा निर्माण टिमले चलाखी गरेको खण्डमा यो निर्माण टिमले ठूलो सफलता पाउने सम्भावना छ ।

तर, पब्लिसिटी कति चलाखीपूर्ण तरिकाले गर्ने र त्यसलाई प्रभावकारी बनाउने त्यो भने ‘लाज शरणम्’ टिममा भरपर्नेछ ।

यो मासबेसको सिनेमा भएकाले प्रचारप्रसार पनि त्यस्तै खालको हुनुपर्नेछ । पब्लिसिटी सामग्री पनि मासबेसकै हुनुपर्नेछ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘सक्किगोनि’ टिमबाट यो चलचिमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’लगायत कलाकार छन् । हरिष र सागर फरक लुक्समा देखिएका छन् । तर, अर्जुन भने ‘सक्किगोनि’कै लुक्समा छन् ।

‘लाज शरणम्’ले केही समयअघि सार्वजनिक तीनवटा पोस्टरमार्फत आफ्नो कथाको झलक देखाइसकेको छ । पोस्टरले आउने टिजर र ट्रेलर लगाएताका सामाग्रीलाई प्रतीक्षित बनाएको छ ।

वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।