लोकप्रिय बन्दै होस्टेल ३ को ‘टिक टिक टिक’

काठमाडौं । चलचित्र ‘होस्टेल ३’को सार्वजनिक गीत ‘टिक टिक टिक’ले उल्लेखनीय लोकप्रियता हासिल गरिरहेको छ ।
आगामी फागुन २३ गते रिलिज हुने यो चलचित्रको गीतले रिलिज भएको केही घण्टाभित्रै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो भने हालसम्म करिब १० लाख भ्युज पाइसकेको छ ।
नेपालमा युट्युब ट्रेन्डिङको १०औं स्थानमा रहेको यो गीत प्रवासी नेपालीहरूको बसोबास रहेका कतारमा नवौँ, युएईमा पच्चीसौँ र कुवेतमा एक्काइसौँ स्थानमा छ । गीतको मुखडा ‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ टिकटिक र रिल्समा निकै चर्चित बनेको छ । हजारौँ प्रयोगकर्ताहरूले यस गीतमा टिकटिक र रिल्स बनाएका छन्।
चलचित्रमा मुख्य भूमिकामा रहेका कलाकारहरू पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुलीको आकर्षक नृत्य रहेको छ । यस गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत तथा स्वर रहेको छ भने सन्तोष राणाले र्याप भोकल दिएका छन् । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।
‘होस्टेल ३’ चलचित्र नेपाली युवाहरूको लोकप्रिय ‘होस्टेल’ शृङ्खलाको तेस्रो संस्करण हो । यस चलचित्रलाई सशान कँडेलले निर्देशन गरेका हुन् भने कथा तथा स्क्रिप्ट माधव शर्माले लेखेका छन् । क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथावस्तुमा आधारित चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्र ‘होस्टेल ३’ सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो । सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माताहरू हुन् भने कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल रहेका छन् ।
नेपाल वितरकका रूपमा आरआर फिल्म्स र काफिया फिल्म्स रहेका छन् ।