‘परान’को औपचारिक घोषणा, ‘कास्ट एण्ड क्रु’ सार्वजनिक

काठमाडौं । उद्योगपति शेखर गोल्छा चलचित्र निर्माणमा होमिदैछन् भन्ने विषयमा यस अघि आर्टखबरले समाचार प्रकाशित गरिसकेको थियो । यो सिनेमालाई चर्चित टेलिभिजन श्रृंखला ‘सक्किगोनि’का लोकप्रिय कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गर्दै छन्, जसको औपचारिक घोषणा गरियो ।
बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै ‘परान’को औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा चलचित्रको कलाकार र प्राविधिक टोली (कास्ट एण्ड क्रु) सार्वजनिक गरियो ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखरले लगानी गर्न लागेको यस चलचित्रको छायांकन फागुनको पहिलो साता धनकुटाबाट सुरु हुने जनाइएको छ ।
बायस्कोप सिनेमाको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले बाबु-छोराको सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्नेछ । कलाकार आचार्यले यसबाट निर्देशनमा डेब्यु गर्दैछन् । चलचित्रको कथा उनैले नै लेखेका हुन् ।
उद्योगपति शेखरको यो पहिलो निर्माण हुनेछ । चलचित्र निर्माणमा उनलाई प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जीत आचार्यले सघाउने भएका छन् ।
‘परान’को प्रमुख भूमिकामा बरिष्ठ कलाकार नीर शाह रहनेछन् । शाहको साथमा मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली र केकी अधिकारी देखिनेछन् । यस्तै, अन्य कलाकारमा अभिनेता प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धी तामाङ, यमन श्रेष्ठ, बबिन राई र बाल कलाकार आर्यदीप आचार्य (निर्देशकका कान्छा छोरा) देखिनेछन् ।
यो सिनेमामा शिवराम श्रेष्ठको छायाकंन रहने छ । उनले यस अघि हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘बोक्सीको घर’को पनि छायाकंन गरेका थिए । चलचित्रमा मित्र देव गुरुङको सम्पादन र सुप्रिम पराजुलीको रङ संयोजन रहने छ ।
चलचित्र निर्माणको उद्देश्यबारे जानकारी दिँदै निर्देशक आचार्यले ‘परान’ नेपाली समाजको कथा र संवेदनालाई समेट्ने प्रयासमा आधारित हुने बताए ।
सिनेमा घोषणा कार्यक्रममा महानायक राजेश हमाल, बरिष्ठ हास्य कलाकार हरिबंश आचार्य, दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्ल लगायत थुप्रै चर्चित व्यक्तित्वको उपस्थिति रहेको थियो ।