तुलसी घिमिरेको ‘पहाड’मा वर्षाको ठाउँमा प्रियांकाको प्रवेश

काठमाडौं । एक समय थुप्रै सुपरहिट र नेपाली चलचित्रको इतिहासमा स्मरणीय नाम बनाएका निर्देशक तुलसी घिमिरे सात वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । उनले निर्देशन गर्ने नयाँ चलचित्र ‘पहाड’को औपचारिक घोषणा माघेसंक्रान्तिको अवसरमा टाइटल भिडियो सार्वजनिक गर्दै गरिएको थियो ।
माघ ७ गतेदेखि गोरखा जिल्लाबाट छायांकन सुरु गरिएको यस चलचित्रको मुख्य कथावस्तु बसाइँसराइका कारण रित्तिँदै गएको पहाडी भूगोलमा आधारित रहेको छ ।
चलचित्रमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, अरुण क्षेत्री लगायतका कलाकार पहिले नै अनुबन्धित भइसकेका थिए । सुरुमा अभिनेत्री वर्षा राउतले अभिनय गर्ने भनिए पनि उनको स्थानमा अभिनेत्री प्रियांका कार्कीलाई अनुबन्ध गरिएको छ ।
यस चलचित्र मार्फत तुलसी घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई नेपाली रजतपटमा डेब्यु गराउँदै छन् । पञ्चमीले यसअघि ‘दर्पण छायाँ २’ मा सहायक निर्देशकको रूपमा काम गरेकी थिइन् भने मुम्बईमा विज्ञापन सिनेमामा क्रिएटिभ डिरेक्टरको भूमिकामा सक्रिय थिइन् ।
चलचित्र ‘पहाड’मा पञ्चमीले अभिनेता अरुण क्षेत्रीसँग जोडी बाँध्नेछिन्।
तुलसी घिमिरेकै लेखनमा बनेको यस चलचित्र भाग्यरत्न फिल्मको प्रस्तुति हो । चलचित्रको निर्मातामा ओजश्वी केसी छन् भने सह-निर्मातामा रिम्पोछे लामा थेङ र सुरेश लामा थेङ रहेका छन्। चलचित्रका क्रियटिभ निर्देशक भारती घिमिरे हुन् भने संगीत निर्देशकका रूपमा रञ्जित गजमेरले काम गरिरहेका छन् ।
चलचित्रमा प्रोडक्सन डिजाइनरको रूपमा तुलसी घिमिरेकी जेठी छोरी भावना घिमिरेले भूमिका निभाइरहेकी छिन् । डिओपी प्रमोद प्रधानको रहने यस चलचित्रको छायांकन गोरखापछि काठमाडौं र मुम्बईमा हुनेछ ।