कपिल शर्मालाई ज्यान मार्ने धम्की !

काठमाडौं । भारतीय कमेडियन तथा अभिनेता कपिल शर्मालाई अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । यो धम्की कपिल मात्र नभई उनका परिवारका सदस्य र सह–कलाकारलाई पनि दिइएको छ ।

यो धम्कीको निशानामा कपिल शर्मा बाहेक कोरियोग्राफर रेमो डिसुजा र कमेडियन सुगंधा मिश्रा पनि परेका छन् । धम्की दिने व्यक्तिले इमेलमार्फत कपिल र उनका परिवार, आफन्त, चिनजानका व्यक्तिहरू, सहकर्मी र छिमेकीलाई मार्ने धम्की दिएका छन् ।

घटना सार्वजनिक भएपछि मुम्बईको अम्बोली पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ । अनुसन्धानका क्रममा उक्त इमेल पाकिस्तानबाट पठाइएको जानकारी सार्वजनिक भएको छ ।

प्रहरीले यस सम्बन्धमा भारतीय दण्ड संहिता (IPC) को धारा ३५१ (३) अन्तर्गत मुद्दा दर्ता गर्दै अनुसन्धान थालेको छ । हालसम्म कपिल वा उनका परिवारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

कपिलभन्दा अघि अभिनेता राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र कमेडियन सुगंधा मिश्रालाई पनि यस्तै प्रकृतिको धम्कीपूर्ण इमेल आएको थियो ।

प्रहरीले धम्की दिने व्यक्तिको आईपी ठेगाना पत्ता लगाउँदै अनुसन्धानलाई तीव्र बनाएको छ । यो घटनाले भारतीय मनोरञ्जन क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ ।