‘तान्डवम्’को टिजरमा अकल्पनीय घटनाहरूको सामना

काठमाडौं। चलचित्र ‘तान्डवम्’को टिजर सार्वजनिक गरिएको छ । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमाको शुक्रबार सार्वजनिक टिजरले सिनेमा कथा र त्यसको रहस्यलाई संकेत गर्दै कौतूहलता सिर्जना गरेको छ ।
महाशिवरात्रिको अवसर पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउने सिनेमा एक नवविवाहित जोडीको कथालाई प्रस्तुत गर्छ, जसले आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गर्दा अकल्पनीय घटनाहरूको सामना गर्छन् ।
पारिवारिक कथा तथा एक्सन थ्रिलर जनरामा आधारित सिनेमाको टिजरमा प्रमुख पात्रहरूलाई स्थान दिइएको छ ।
टिजरको सुरुवात मुख्य कलाकार अंकित खड्काको संवादबाट हुन्छ भने अन्त्य निर्देशक समेत रहेका अभिनेता जुनिम गहतराजको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ भन्ने दमदार संवादसँगै गरिन्छ ।
चलचित्रमा अंकित खड्का र जुनिम गहतराजसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।
यो चलचित्र सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण गरेको हो । सिनेमाको कथा, पटकथा र संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
सिनेमाका निर्माता धनकुमारी गहतराज, सबिना मगर र मनिष गौतम हुन् । हरि घले लामाले सिनेमाटोग्राफी गरेका छन् भने सम्राट बस्नेतले एक्सन निर्देशन गरेका छन् । सिनेमामा सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक रहेको छ ।