‘एक्टर: टेक वन’ : ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने

काठमाडौं । नेपाली चलचित्र ‘एक्टर: टेक वन’ नेपालसँगै विश्वभर रहेका नेपाली दर्शकमाझ प्रदर्शन गरिने भएको छ । नेपालभित्र र विभिन्न मुलुकमा नेपालीहरूको बसोबास रहेका स्थानहरूमा चलचित्र प्रदर्शनको तयारी तीव्र पारिएको छ ।

चलचित्रका निर्माताका अनुसार, केही देशमा नेपालसँगै एकसाथ रिलिज हुनेछ भने केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जाले लिएका छन् भने क्यानडामा अस्त्र इभेन्ट्सले अधिकार प्राप्त गरेको छ ।

यस्तै, युरोपमा निमा भुसाल नेतृत्वको क्या दामी इभेन्ट्सले आइ पोपर्ससँगको सहकार्यमा चलचित्र प्रदर्शन गर्नेछ । अस्ट्रेलिया र न्यूजिल्यान्डमा गिरीश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र इस्सा भाइव इभेन्ट्सले प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । जापानमा सचिन आचार्यले विभिन्न कम्पनीहरूको सहकार्यमा रिलिजको व्यवस्था मिलाएका छन् । अभिनेता प्रदिप खड्का जापान र अमेरिकामा चलचित्र प्रदर्शनमाजानेछन् ।

चलचित्रका निर्माता थमन कुमार भण्डारीका अनुसार, मध्यपूर्वका देशहरूमा समेत रिलिजको अन्तिम तयारी भइरहेको छ ।

गत साता सार्वजनिक गरिएको चलचित्रको ट्रेलरले दर्शकबाट अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । ट्रेलर सार्वजनिक भएको पाँच दिनमै युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गर्दै यो नेपाली चलचित्रको ट्रेलरमा कीर्तिमान बनाएको छ ।

ट्रेलर हेरेका दर्शकहरूले चलचित्रको कथा, प्रस्तुति, र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन् ।

‘एक्टर: टेक वन’ राजन भुसालद्वारा निर्देशित चलचित्र हो। प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकार प्रमुख भूमिकामा रहेका छन् । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले तयार पारेका हुन् ।

यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन्।

‘एक्टर: टेक वन’ले नेपाली चलचित्रलाई ओभरसिज बजारमा थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।