‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएसँगै चलचित्रकर्मी आक्रोशित

काठमाडौं । शहीद दिवसको अवसरमा आजबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक्टर : टेक वान’को पूर्वनिर्धारित प्रदर्शन रोकिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार अन्तरिम आदेश जारी गर्दै सिनेमाको प्रदर्शन स्थगित गर्न आदेश दिएपछि निर्माण टिम आक्रोशित बनेको छ ।

बुधबार बिहान देशभरका हलले सूचना प्रकाशित गर्दै अदालतको आदेशको कारण प्रदर्शन रोक्नुपरेको बताएका छन् । प्रदर्शनको एक दिन अगाडि रोकिँदा त्यसले पार्ने आर्थिक र मानसिक असरको बारेमा पनि अधिकांशले आवाज उठाएका छन् भने अधिकांशले नाम दर्ता गरेर निर्माणको इजाजत दिने चलचित्र विकास बोर्डप्रति आक्रोश देखिएका छन् ।

यसअघि चलचित्र विकास बोर्डले सिनेमालाई निर्माण अनुमति तथा सेन्सर प्रमाणपत्र प्रदान गरिसकेको थियो । तर, चलचित्र ‘एक्टर’ का निर्माताले नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरी कानुनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैर कानुनी कार्य गरेको आरोप रिटमा लगाइएको थियो । अदालतले आगामी माघ २२ गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ । मुद्दामा चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाइएको छ ।

 गत माघ ४ गते प्रदर्शनमा आएको चलचित्र ‘एक्टर’ले भने हलमा पानी पनि भन्न भ्याएन । चलचित्र सुपर फ्लप नै भयो । 

यता, चलचित्रको रिलिज रोकिँदा निर्माण पक्ष गम्भीर आर्थिक संकटमा परेको छ । करिब ३ करोड भन्दा बढी लगानी भएको सिनेमा एक दिन अघि नै रोकिएपछि निर्माता, कलाकार तथा वितरक चिन्तित बनेका छन् । टिकट बुकिङ खुलिसकेको अवस्थामा प्रदर्शन स्थगित हुँदा आर्थिक नोक्सानीको जोखिम झन् बढेको छ ।

निर्देशक तथा कलाकार निश्चल बस्नेतले फेसबुक पोस्टमार्फत चलचित्र विकास बोर्डलाई नै मुख्य जिम्मेवार ठहर गरेका छन् । उनले लेखेका छन्, ‘नाम दर्ता गर्ने संस्था चलचित्र विकास बोर्डले जवाफदेही लिनुपर्छ । सेन्सर पास भएपछि कुनै फिल्म रोक्न मिल्दैन ।’

कलाकार तथा निर्माता दीपकराज गिरीले फेसबुकमा लेखेका छन्, ‘फिल्म रिलिज गर्ने ठाउँ हल हो कि कोर्ट ?’ साथै, उनले एउटै नाममा पछि फुर्का थपेर चलचित्र नामाकरण गर्ने परम्परा अन्त्य गर्नुपर्ने बताएका छन् ।

कलाकार विजय लामाले समेत ‘एक्टर : टेक वान’लाई समर्थन गर्दै, ‘फिल्म उद्योग अघि बढ्न लाग्दा यसरी मुद्दा हालेर क्षति पुर्‍याउनु गलत हो,’ बताएका छन् ।

केही चलचित्रकर्मीले ‘एक्टर : टेक वान’लाई न्याय दिनुपर्ने माग गरेका छन् भने केहीले ‘एक्टर’ र ‘एक्टर : टेक वान’ दुबै पक्षलाई न्याय दिनुपर्ने तर्क अघि सारेका छन् । सामाजिक सञ्जालमा ‘#JusticeForActorTakeOne’ अभियान समेत सुरु भएको छ ।

यस विषयमा अदालतको अन्तिम निर्णयपछि मात्र चलचित्रको भविष्य टुंगो लाग्नेछ । आगामी माघ २२ गतेको सुनुवाइपछि मात्र फिल्मको रिलिजबारे थप स्पष्टता आउनेछ ।