विजय बरालले छाडे ‘कमेडी दरबार’

काठमाडौं । प्राइम टेलिभिजनबाट प्रसारण भइरहेको कमेडी शो ‘कमेडी दरबार’का जज विजय बरालले शो छाड्ने भएका छन् ।
विजयले नयाँ चलचित्रको चापका कारण समय व्यवस्थापन गर्न कठिन भएकाले र सम्झौता सकिए अनुसार नै शो छोड्न लागेका हुन् ।
उनले ‘कमेडी दरबार’का लागि २६ भागसम्मको सम्झौता गरेका थिए । हालसम्म शोका २२ भाग प्रसारण भइसकेका छन् भने बुधवार विजयले थप तीन भागको छायांकन पूरा गरेका छन् । केही दिनअघि पनि उनले एक भागको छायांकन गरिसकेका थिए । सम्झौता अनुसार २६ भागसम्मको छायांकन पूरा गरेपछि उनी शोबाट बाहिरिने निर्णयमा पुगेका हुन् ।
विजयलाई मुख्य भूमिकामा लिएर सुरेन्द्र पौडेलको निर्देशनमा ‘बरिष्ठ बलराम’ छायाकंन हुने तयारीमा रहेको छ । लामो समयदेखि सिनेमा सम्पादन गर्दै आएका पौडेलले चलचित्र ‘बाबरी’पछि नयाँ सिनेमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्न लागेका हुन् ।
सोसल ड्रामा बन्ने सिनेमा ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । केही दिनमै यस सिनेमाको औपचारिक घोषणा हुँदै छ ।
यसैगरि विजयलाई मुख्य भूमिकामा लिएर अर्को नयाँ चलचित्र ‘जनै हराएको बाहुन’ बन्न लागेको छ । यो सिनेमामा पनि उनी प्रमुख भूमिकामा अभिनय गर्नेछन् ।
विजयले केही समयअघि मात्र ‘जनै हराएको बाहुन’ साइन गरेका हुन्। यो चलचित्र हिमाल न्यौपानेको निर्देशनमा निर्माण हुन लागेको हो । यस सिनेमाका एसोसिएट निर्देशक ‘प्रेम गीत ३’का अभिनेता मनिष राउत हुन् ।
यी दुई चलचित्रको छायाकंन सक्काएपछि उनले ‘जारी-२’ र ‘कबड्डी ५’का लागि समय दिँदै छन् ।
चलचित्रको व्यस्त लाइनअपकै कारण समय मिलाउन गाह्रो भएसँगै ‘कमेडी दरबार’मा रहेको आफ्नो भूमिका छोड्ने निर्णयमा पुगेको विजयले बताएका छन् ।
आर्टखबरसँगको कुराकानीमा विजयले भने, “फिल्ममा पनि संलग्न हुनुपर्ने भएको छ, ‘कमेडी दरबार’सँगको सम्झौता पनि सकियो, अब पूरा समय सिनेमामै केन्द्रित हुनुपर्छ । कुनै फिल्मको छायांकन सकिएर केही दिनको समय खाली भएपनि आफ्नो तयारी पूरा गर्ने समय नै अभाव हुने देखिन्छ, सोही कारण अब शोमा फर्कने सम्भावना देख्दिन ।”
विजयको चलचित्र व्यस्तताले गर्दा उनी शो छोड्ने निर्णयमा दृढ देखिएका छन् । उनको बाहिरिने निर्णयले शोको टीममा असर पार्ने अनुमान गरिएको छ । शोका निर्देशक विक्की अग्रवालले भने उनलाई फकाउने प्रयास गरिरहेका छन् । अब ‘कमेडी दरबार’ टिमले उनको स्थान पूर्ति गर्न विकल्प खोज्ने वा कुनै अन्य व्यवस्थापन गर्ने भन्नेबारे आधिकारिक जानकारी आउन बाँकी छ ।