‘चलचित्र ‘ममी’ले साइकोलोजिकल ड्रामा र हररको नयाँ स्वाद दिन्छ’

काठमाडौं । चलचित्र ‘ममी’ आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । हरर फ्यामिली ड्रामा रहेको यस सिनेमामा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्र ‘ममी’को लेखन र निर्देशन समर निरौलाले गरेका हुन्, यो उनका लागि डेब्यू निर्देशन हो ।

अनौठा पात्रहरूको त्रासमा कसरी एउटा परिवार गुज्रिरहेको छ र त्यसले परिवारमा ल्याउने परिणामको कथा भन्ने ‘ममी’ले अहिलेको पुस्ताले खोजिरहेको प्रकारको सिनेमा भएको निर्माण पक्षले दाबी गरेको छ ।

चलचित्रका कलाकार र निर्देशकका अनुसार यो सिनेमाले दर्शकलाई तर्साउने हुँदा पनि समाजका यथार्थ पक्षलाई उठान गर्दै, मानिसको मनोविज्ञान र मानसिक अवस्थालाई प्रस्तुत गरेको उनीहरुको भनाइ छ ।

अभिनेत्री प्रियंका कार्कीका अनुसार स्क्रिप्ट र स्क्रिनप्ले सशक्त छ, तर तर्साउने दृश्य छैन । चलचित्रमा कथाले हररलाई मुख्य बनाउनको सट्टा साइकोलोजिकल ड्रामामा मेश गरिएको छ ।

उनी भन्छिन्, “यो सिनेमामा हरर एलिमेन्ट्सको प्रयोग गरेर डर उत्पन्न गर्न होइन, बरु त्यसलाई एक महत्त्वपूर्ण कथा भनाइका रूपमा प्रस्तुत गरिएको छ । हामीले सिनेमा बनाउँदा त्यो कुनै साधारण हरर फिल्म होइन, एक अनौठो साइकोलोजिकल ड्रामा हो ।”

प्रियंका थप्छिन्, “यस सिनेमामा मेरो क्यारेक्टरले भूत देख्यो कि देखेको छैन भन्ने प्रश्न उठ्न सक्छ । यसले समाज र परिवारको दबाब र मानसिक सन्तुलनको गहिरो विश्लेषण गर्छ । चलचित्रलाई मानसिक सन्तुलनको समस्या र साइकोलोजिकल प्वाइन्टबाट पनि हेर्न सकिन्छ।”

अभिनेता सुलक्षण भारतीले सिनेमाको क्यारेक्टर र विषयवस्तु रचनात्मक रूपमा प्रस्तुत गरेको बताए । “बोक्सी र कालो बिरालोको कथालाई एक किसिमको समाजिक सन्देशको रूपमा देखाइएको छ, जसले समाजमा रहेको अन्धविश्वास र परम्परालाई उजागर गर्दछ,” उनले भने ।

अभिनेत्री दीया मास्केले चलचित्र ‘ममी’ केवल एक हरर सिनेमा नभई, मानसिक अवस्थाको सशक्त चित्रण भएको एक विश्लेषणात्मक कथा रहेको बताइन् ।

“मलाई विश्वास छैन कि भूत हुन्छन्, र जनावरलाई यस्तो आरोप लगाउने कुरा त अझै गर्नुपर्दैन । यो सिनेमाले जनावरलाई गलत तरिकाले प्रस्तुत गरेको छैन ।,” अभिनेत्री मास्के भन्छिन्, “हामीले कालो बिरालो पनि माया गरेर पालेका हौं ।”

निर्मात्री र लेखक पूर्णिमा जोशीले भने, “हामीसँग शुरुआतमा सीमित बजेट मात्र थियो, तर हामीले कडा मेहनत गरेर सिनेमा बनाएका हौं। यो सिनेमा कुनै ठूलो बजेटको प्रोडक्सन नभए तापनि, यसको क्वालिटी र कथा सबैलाई आकर्षित गर्नेछ ।”

निर्देशक समर निरौलाले भने, “हामीले समाजको ऐना भएको सिनेमा निर्माण गर्न चाह्यौं । ‘ममी’ भूतको सिनेमा होइन, डर उत्पन्न गर्ने सिनेमा हो, जसले दर्शकलाई सोच्न वाध्य पार्नेछ ।”

चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । सिनेमाको निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् । कार्यकारी निर्मातामा सुमन कोइराला छन् ।

सिनेमाको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको छ । पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दीपेश चौधरी तथा संगीतकारमा एसडी योगी छन् ।

सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रिव्युसनले वितरण गर्दैछन् ।