चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’का निर्माताबीच सहमति, मुद्दा फिर्ता लिइने

काठमाडौं । चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’ बीचको नामसम्बन्धी विवाद समाधान भएको छ । आजको छलफलमा दुई पक्षले आपसी सहमति जनाउँदै ‘एक्टर : टेक वान’लाई सिनेमा हलमा निर्बाध प्रदर्शन गर्न अनुमति दिने निर्णय गरेका हुन् ।
यसै क्रममा, काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दा आगामी शुक्रबार अदालत खुल्नासाथ फिर्ता लिने सहमति भएको छ ।
‘एक्टर’ का निर्माताले प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा अदालतमा मुद्दा दायर गरेका थिए, जसका कारण माघ १६ गतेबाट प्रदर्शनको तयारीमा रहेका ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको थियो । शुक्रबार अदालत खुल्नासाथ, मुद्दा फिर्ता लिने सहमति भएको हो ।
अदालतमा दायर भएको ‘एक्टर’का निर्माताले मुद्दा फिर्ता लिने भएसँगै चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शनको मिति तय गर्नको लागि छलफल भइरहेको छ ।
चलचित्र ‘एक्टर : टेक वान’लाई राजन भुसालले निर्देशन गरेका हुन्, जसमा प्रदीप खड्का, राजबल्लभ कोइराला, दिब्या रायमाझी, आना शर्मालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रिमियरमा सिनेमा हेरेका दर्शकहरूले यसको तारिफ गरेका छन् ।
‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए र यो चलचित्र माघ ४ गते नै रिलिज भइसकेको छ ।