‘फेरि रेशम फिलिलि’को गीत कस्तो छ ?

काठमाडौं । फागुन १४ गते रिलिज हुने चलचित्र ‘फेरि रेशम फिलिलि’को नयाँ गीत सार्वजनिक भएको छ ।

‘फेरि जालमा’ बोलको गीतमा कालीप्रसाद बास्कोटा र सोमिया बराइलीको स्वर छ । संगीत कालीप्रसाद स्वयंले गरेको गीतमा शब्द मानसराजको छ ।

‘फेरि रेशम फिलिलि’को पुरानै गीतको ट्युनिङलाई समाएर गीतको संगीत गरिएको छ । पुरानै लयमा समाउँदा त्यस्तै मायाको अपेक्षा निर्माणपक्षले गीतमा गरेको देखिन्छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य पात्र विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् । रमाइलो भिडियोमा क्यारेक्टरको लुक्सले चलचित्र कमेडी फर्ममा रहेको संकेत गर्छ ।

‘फेरि रेशम फिलिलि’लाई निरज महर्जनले निर्देशन गरेका छन् । सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

‘फेरि रेशम फिलिलि’मा विनय र सुपुष्पासँगै नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।

सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा तथा संवाद छ ।