‘रंगी’ को ट्रेलरमा प्रेम, कमेडी र पीडा

काठमाडौं । चलचित्र ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ ।

सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ ।

ट्रेलरमा ‘डेब्यू’ नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, सलोन, नम्रता र आयुषीको नोकझोकलाई पनि देखाइएको छ ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द छ ।

बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।