गायिका रानी शाक्यको नयाँ हिन्दी गीत ‘हमनवा’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका रानी शाक्यले गायक विनित सिंहसँग सहकार्य गर्दै नयाँ हिन्दी गीत ‘हमनवा’ सार्वजनिक गरेकी छिन् । यो गीतमा रानी र विनितको सुमधुर स्वर रहेको छ भने गीतको शब्द तथा संगीत राज विर र विनय चौधरीले तयार पारेका छन् । रोमान्टिक भावमा प्रस्तुत गरिएको यो गीत प्रेमभावलाई दर्शाउने शैलीमा छ ।

गीतको भिडियोमा भारतीय कलाकार करण मेहेरा र अम्बिका भानीको अभिनय रहेको छ । सार्वजनिक भिडियोमा करण र अम्बिका एक अर्काको प्रेमभावमा डुबेका देखिन्छन्, जसले गीतलाई अझ आकर्षक बनाएको छ ।

नितिन चन्दको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा विष्णुले छायांकन गरेका छन् भने सम्पादन माभेरिकले गरेका छन् । उत्कृष्ट छायांकन र सम्पादनका कारण भिडियोले गीतको भावलाई थप प्रभावशाली ढंगले प्रस्तुत गरेको छ ।

हाल अमेरिकामा रहेर पनि गीतसंगीतमा सक्रिय गायिका रानी शाक्यले नेपाली गीतहरूजस्तै यो हिन्दी गीतले पनि दर्शक तथा श्रोताको मन जित्ने विश्वास व्यक्त गरेकी छिन् । उनले नेपाली तथा हिन्दी संगीतलाई समान रूपमा माया गर्ने बताउँदै आफ्ना दर्शकको सकारात्मक प्रतिक्रिया अपेक्षा गरेकी छिन् ।

गीत सार्वजनिक भएसँगै यसले राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।