‘घरज्वाइँ’ समूहको नयाँ चलचित्र ‘मितज्यू’

काठमाडौं । व्यावसायिक रुपमा सफल चलचित्र ‘घरज्वाइँ’ को निर्माण समूहले नयाँ सिनेमा ‘मितज्यू’ को निर्माण घोषणा गरेको छ ।
सोमबार बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै यसको निर्माणको जानकारी दिइएको हो ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस सिनेमाको निर्माण जनक घर्ती मगरले गर्नेछन् भने निर्देशन अनिल बुढा मगरले गर्नेछन् ।
सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’ को कथावस्तु झल्काइएको छ । पेन्टिङ मार्फत तयार पारिएको पोस्टरमा दुई पात्रलाई सामान बोक्ने भ्यानको अगाडिको भागमा पञ्जा जुधाइ खेलिरहेको देख्न सकिन्छ। साथै, भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भाले देख्न सकिन्छ, जसले सिनेमाको कथावस्तु रोचक बनाउने संकेत गर्दछ ।
आगामी वर्ष छायांकन सुरु गरिने ‘मितज्यू’ मा को-को कलाकार रहने भन्ने खुलाइएको छैन । निर्माता जनक घर्ती मगरका अनुसार केही दिनपछि चलचित्रका कलाकार र प्राविधिक टिमको नाम सार्वजनिक गरिनेछ ।
चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । ‘मितज्यू’ आगामी वर्ष २०८२ को चैत २७ गते प्रदर्शनमा आउनेछ ।
महेश राईको लेखनमा तयार हुन लागेको यस चलचित्रका प्रोडक्सन कन्ट्रोलर धनबहादुर राई रहेका छन् । नोभिस आर्ट्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ पुष्प आले मगरले गरेका हुन् ।
नेपालमा ‘मितज्यू’ लाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।