अपेक्षा नगरेका व्यक्तिबाट आएको ‘दुखी आत्मा’, दर्शकले कसरी लिएलान् ?

काठमाडौं । एडल्ट सिनेमा ‘दुखी आत्मा’को चार मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ । सम्पादकले निर्देशकसँग पर्याप्त लेन्थ मागेर काटेको ट्रेलरमा थुप्रै संवाद र दृश्य छन् । ढुक्कले हतार नगरी सिनेमाका पात्र आफ्ना क्रियाकलाप गरिरहन्छन् ।

खासै परिवर्तन नहुने कलर र लाइटमा खिचिएका उज्यला दृश्य र संवाद धेरै भए पनि एकै खालका अथवा एडल्ट संवाद र सिनकै वरिपरि घुमेका छन् । कविको उचो छविको पछि लोभिएका युवती उसको यौन दुर्बलता थाहा पाएपछि उसलाई कसरी घृणा गर्छन्, यही देखाउन ट्रेलरले पूरै समय खर्चिएको छ ।

एडल्ट सिनेमा हो, त्यसैले संवाद अपाच्य भए भन्ने भएन । जानरा अनुसारको संवाद र दृश्य स्वभाविक छन् । तर, ट्रेलरजस्तै पूरै चलचित्र पनि मुख्य पात्रको यौन दुर्बलता देखाउन मात्रै केन्द्रित त हुने होइन ? अथवा निर्देशक सरप्राइज दिन चाहन्छन्, त्यो भने प्रतिक्षाको विषय हो ।

तर, चलचित्रको पूरै समय यसैका लागि खर्च गरियो भने त्यसमा दर्शकले चित्त बुझाउँछन् कि आलोचना गरेर हलबाट निस्किन्छन्, त्यसमा निर्देशक पक्कै सचेत छन् होला ।

एडल्ट सिनेमा हो । जनरा अनुसारका संवाद र सिन हुन्छन, त्यसलाई अन्यथा लिनु हुँदैन । लक्षित ग्रुप नै एडल्ट भएकाले त्यह अनुसार संवाद र दृश्य हुन्छन्, नै । तर सेन्सर बोर्डले कति हटाउन भन्छ र कति बिप लगाउन भन्छ त्यो पनि पर्खाइएको विषय बनेको छ ।

एडल्ट सिनेमाका दर्शक मोटामोटी कति रहेछन् भन्ने सामान्य अन्दाज पनि नरहेकाले ‘दुखी आत्मा’ले यसको पहिचान भने गर्नेछ । बजार कत्रो छ र दर्शकले कसरी लिन्छन् भन्ने सामान्य आंकलनसमेत नभएको अवस्थामा दीपेन्द्रले यो आँट भने गरेका हुन् ।

सबैभन्दा रोचक पक्ष भने यो हो कि, यो जनराको सिनेमा दीपेन्द्रले बनाउँछन् भन्ने धेरैले अपेक्षा गरेका थिएनन् । अनि दयाहाङ राईले यास्तो भूमिकामा चलचित्र गर्छन् भन्ने धेरैले कल्पना पनि गरको विषय थिएन । यस्तो कन्टेनमा यी दुई देखिँदा दर्शकले कसरी लिएलान्, अर्को प्रतिक्षाको विषय हो ।

ट्रलेरमा सबैभन्दा सशक्त र क्यारेक्टरमा म्याच आँचल शर्मालाई देखिएको छ । चरित्रअनुसार उनी फिट देखिएकी छन् । क्यारेक्टरअनुसार उनको मुहारमा मादकता सुहाएको छ । दयाहाङलाई भने धेरै सिनेमामा देखिरहेको अनुहार र स्वर उही भएकाले धेरै फरकपन महसुस हुँदैन ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, दीया मास्के, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।

हिमाल कडरियाको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सुदीप ढकाल हुन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

चलचित्रमा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । क्लर्क वर्क क्रिएसनको व्यानरमा निर्माण भएको चलचित्र फागुन २ गते प्रेम दिवसको अवसर पारेर रिलिज हुँदै छ ।