महिला फ्यानलाई चुम्बन प्रकरणमा उदितनारायणको स्पष्टीकरण

काठमाडौं । चर्चित गायक उदितनारायण झा हाल सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । एक कन्सर्टका क्रममा उनले महिला फ्यानलाई चुम्बन गरेको भिडियो भाइरल भएपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

भिडियोमा उदित आफ्नो सुपरहिट गीत ‘टिप टिप वर्षा पानी’ गाइरहेका बेला एक महिला फ्यानले उनलाई सेल्फीका लागि नजिकिन्छिन् । सेल्फी लिएको केहीबेरमै उनले उदितलाई गालामा चुम्बन गर्छिन्, त्यसपछि उदितले पनि महिला फ्यानलाई चुम्बन गर्छन् । त्यसक्रममा केही अन्य महिला फ्यानसँग पनि उनले अँगालो हालेर माया देखाएको देख्न सकिन्छ ।

भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले यसलाई अनुपयुक्त भनेका छन् भने केहीले यसलाई सामान्य रूपमा लिएका छन् ।

यस विषयमा ‘हिन्दुस्तान टाइम्स’सँग कुरा गर्दै उदितनारायणले फ्यानहरूको जोश र प्रेमलाई सामान्य रूपमा लिनुपर्ने बताए । उनले भने, “फ्यानहरू धेरै उत्साही हुन्छन् । हामी सभ्य मानिस हौँ । कतिपयले आफ्नो माया देखाउन यसरी प्रतिक्रिया जनाउँछन्, यसलाई गम्भीर रूपमा लिनु पर्दैन।”

उदित विवादमा तानिएकाे यो पहिलो पटक भने होइन । पुरानो एक भिडियोमा उनले गायिका श्रेया घोषाललाई स्टेजमा चुम्बन दिएको दृश्य अहिले फेरि भाइरल भइरहेको छ । उक्त भिडियोमा श्रेया आश्चर्यचकित देखिन्छिन् ।

त्यस्तै, उदितनारायणले रियालिटी शोमा गायिका अल्का याग्निकको गालामा चुम्बन गरेको भिडियो पनि चर्चामा छ । यसबारे उनले भनेका छन्, “मेरो अल्काजीसँग निकै पुरानो सम्बन्ध छ । हामी जहिले पनि हाँसोठट्टा गरिरहन्छौँ ।”

उदितनारायण र अल्का याग्निक ९० को दशकदेखि बलिउड संगीत उद्योगका चर्चित जोडीमध्ये एक मानिन्छन् । उनीहरूले थुप्रै सुपरहिट गीत दिएका छन्, जसलाई आज पनि स्रोताहरूले मन पराइरहेका छन् ।