सात वर्षपछि तुलसी घिमिरेको कमब्याक, गोरखाबाट ‘पहाड’को छायांकन सुरु

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एक ऐतिहासिक नाम बनाइसकेका निर्देशक तुलसी घिमिरे पुनः निर्देशनमा फर्किएका छन् । उनले निर्देशन गर्ने नयाँ चलचित्र ‘पहाड’को छायांकन गोर्खा दरबारमा विशेष पूजापछि सुरु गरिएको छ ।

एक समय थुप्रै सुपरहिट र नेपाली चलचित्रको इतिहासमा स्मरणीय नाम बनाएका निर्देशक घिमिरे सात वर्षपछि निर्देशनमा कमब्याक गर्दै छन् । उनले पछिल्लो ‘दर्पणछाया -२’ पछि निर्देशनबाट केही समय विश्राम लिएका थिए ।

गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन छायांकन हुने चलचित्रको मुहूर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले गरेका थिए ।

यस चलचित्र मार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई नेपाली रजतपटमा डेब्यु गराएका छन् । उनले यस सिनेमामा अरुणसँग जोडी बाँध्नेछिन् ।

यस चलचित्रको मुख्य कथावस्तु बसाइँसराइका कारण रित्तिँदै गएको पहाडी भूगोलमा आधारित रहेको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको सिनेमाको लेखन निर्देशक घिमिरेले नै गरेका हुन् ।

छायांकन सुरु गरेसँगै निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्र ‘पहाड’मार्फत दर्शकसमक्ष पुर्‍याउन लगिएको बताए ।

उनले भने, ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । सिनेमाको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।’

उनले आफूले राम्रो टिम पाएको र सेटमा फर्किदा छुटै उत्साह महसुस गरेको बताए । ओजस्वी केसी निर्माता रहेको चलचित्रमा प्रमोद प्रधानको छायांकन रहनेछ । भारतमा चलचित्र, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायाकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका थिए ।

उनी तीस वर्षपछि नेपाली चलचित्र छायांकनका लागि नेपालमा आएका हुन् ।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा मदनकृष्ण, अरुण र पञ्चमीसँगै विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनिल थापा, प्रियांका कार्की, आशा पौडेल, रेणू योगी, अंकित खड्कालगायतका कलाकारले अभिनय गर्दै छन् ।

रञ्जित गजमेर सङ्गीत, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेको यस चलचित्रका पोडक्शन म्यानेजर दिलिप पन्त हुन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको सिनेमालाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।