युट्युब ट्रेन्डिङको शीर्ष स्थान नजिक ‘फेरि रेशम फिलिलि’को ‘फेरि जालमा’

काठमाडौं । फागुन १४ गते रिलिज हुने चलचित्र ‘फेरि रेशम फिलिलि’को गीत ‘फेरि जालमा’लाई दर्शकहरूले मन पराइरहेका छन् । बिहीबार सार्वजनिक भएको गीत युट्युब ट्रेन्डिङमा प्रवेश गरिसकेको छ ।

गीतमा कालीप्रसाद बास्कोटा र सोमिया बराइलीको स्वर छ । संगीत कालीप्रसाद स्वयंले गरेको गीतमा मानसराजको शब्द रहेको छ ।

‘रेशम फिलिलि’को पुरानै गीतको ट्युनिङलाई समाएको गीतको भिडियोमा सिनेमाका मुख्य पात्र विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् । रमाइलो भिडियोमा क्यारेक्टरको लुक्सले चलचित्र कमेडी फर्ममा रहेको संकेत गर्छ ।

करिब पाँच दिन अघि सार्वजनिक भएको गीतले यो समाचार तयार पर्दासम्म १७ लाख ३२ हजार भ्युज बटुल्न सफल भएको छ भने युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङमा दोस्रो स्थानमा रहेको छ । दर्शकको राम्रो साथ पाइरहेको गीत शिर्ष स्थान तर्फ बढाइरहेको छ ।

दर्शकहरूले गीतलाई अत्यधिक रुचाइरहेका छन् । कतिपय दर्शकहरूले यसलाई अर्को उत्कृष्ट गीतको रूपमा लिएको प्रतिक्रिया दिएका छन् । गीतको भिडियो तथा कलाकारहरूको अभिनयलाई पनि दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् ।

चलचित्रका निर्देशक निरोज महर्जनका अनुसार ‘फेरि रेशम फिलिलि’ले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ । सिनेमा हाँस्यरसमा आधारित भएकाले दर्शकलाई इन्टरटेन गर्न सक्ने निर्माण टिमको विश्वास छ।

चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता रौनक विक्रम कडेल हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी रहेका छन् ।

चलचित्रको छायांकन सुसन प्रजापतीले गरेका हुन् भने पटकथा निर्देशक महर्जन र आकाश बरालले लेखेका छन् । नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ।

फागुन १४ गते रिलिज हुने यो सिनेमा दर्शकमाझ प्रतिक्षारत छ। ‘फेरि जालमा’ गीतको लोकप्रियताले चलचित्रको व्यापार पनि राम्रो हुने अपेक्षा गरिएको छ ।

यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।