अशोक शर्माको चलचित्रको नाम ‘डबल त्रिपल’, कलाकारमा दयाहाङ, खगेन्द्र र मिरुना

काठमाडौं । कलाकार, निर्माता, निर्देशक अशोक शर्माले नयाँ चलचित्र निर्माणको तयारी गरेका छन् । उनले चलचित्र ‘डबल त्रिपल’ निर्माणको तयारी गरेका हुन् ।
उनको चलचित्रको स्क्रिप्ट डक्टरिङ लेखक तथा निर्देशक मनोज पण्डितले गरेका छन् । केही समय अगाडि मनोजले अशोकसँगको तस्बिर सार्वजनिक गर्दै फेसबुकमा शुभकामना दिएका थिए ।
पण्डितले अशोकसँग हात मिलाएको उक्त तस्वीरमा पछाडि ह्वाइट बोर्डमा अशोक शर्माको ‘डबल त्रिपल’ लेखिएको छ । सोही तस्वीरमा चलचित्रको टाइटल मुनि ‘लोभले लाभ, लाभले विलाप’ श्लोगन लेखेको देखिन्छ । उक्त श्लोगनले यो सिनेमा कमेडी र सामाजिक ड्रामा जनरामा बन्न लागेको बुझ्न सकिन्छ ।
निर्देशक शर्माले चलचित्रको औपचारिक घोषणा भने गरेका छैनन् । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने र मिरुना मगर मुख्य भूमिकामा रहने स्रोतले जानकारी दिएको छ ।
वैशाखबाट छायांकन सुरु हुने ‘डबल त्रिपल’लाई आलोक शुक्लाले खिच्ने खिच्नेछन् । पूर्वी नेपालमा छायांकन हुने यो चलचित्र आगामी दसैँमा रिलिज गर्ने बताइएको छ ।
डिजिटल सिनेमा नेपाल (डीसीएन) कम्पनी मार्फत नेपाली चलचित्रको वितरण समेत गर्दै आएका शर्माले यसअघि ‘जय भोले’, ‘रातो टीका निधारमा’ लगायत थुप्रै सिनेमा बनाइसकेका छन् । ‘रातो टीका निधारमा’ बाट उनले आफ्नो छोरा अंकित शर्मालाई नायकको रूपमा भित्र्याएका थिए ।
