लता मंगेशकरसँग गीत गाउन पाउनु मेरा लागि गर्वको कुरा हो- रामकृष्ण ढकाल

काठमाडौं । भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्यतिथिको अवसरमा चर्चित गायक रामकृष्ण ढकालले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् ।

‘लता मंगेशकर लभ इन मेमोरी’ शीर्षकमा आयोजित सो कार्यक्रममा ढकालले लता मंगेशकरप्रति श्रद्धाञ्जली व्यक्त गरे । सो अवसरमा गायक ढकाल र लता मंगेशकरको युगल गायनमा रहेको चर्चित गीत ‘बाचुञ्जेलीलाई’को लताको एकल संस्करण सार्वजनिक गरेका छन् ।

कार्यक्रमको सुरुमा एक मिनेट मौन धारण गरी दिवंगत गायिकाप्रति सम्मान व्यक्त गरिएको थियो भने ढकालसहित संगीतकर्मीहरूले उनको तस्बिरमा माल्यार्पण गरेका थिए ।

ढकालले उक्त गीत रेकर्ड गर्दाको अनुभव साझा गर्दै भने, “नेपाली संगीतको पहिचानसँगै म लताजीसँग गाउन पाउनु मेरा लागि गर्वको कुरा हो । यो गीत तयार पार्न साथ दिएका वरिष्ठ गीतकार आनन्द अधिकारी, संगीतकार शिखर सन्तोष, संगीत संयोजक किरण कँडेल, छायाकार स्व. विदुर पाण्डे, निर्देशक भूषण दाहाल तथा सम्पूर्ण टिमप्रति म आभारी छु ।”

उनले लता मंगेशकरको आवाजमा रेकर्ड भएको अन्तिम गीत भएकाले यसको विशेष महत्व रहेको उल्लेख गर्दै, संसारभर रहेका लता मंगेशकरका प्रशंसकका लागि यो गीत एक अमूल्य उपहार भएको बताए ।

लता मंगेशकरले नेपाली भाषामा तीनवटा गीत गाएकी छन् । पहिलो, नेपालका तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहको ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिन’, दोस्रो, ‘माइतीघर’ चलचित्रको ‘तिमीलाई शुभकामना’, र तेस्रो ‘बाचुञ्जेलीलाई’ हो ।

सन् २०२२ को फेब्रुअरी ६ मा दिवंगत भएकी लता मंगेशकरले आफ्नो गायन यात्रा सन् १९४२ बाट सुरु गरेकी थिइन् । करिब ७५ वर्षको सांगीतिक यात्रामा उनले १४ भाषामा ५०,००० भन्दा बढी गीत गाएकी थिइन् । उनको पहिलो गीत मराठी चलचित्रको लागि रहेको ‘नाचू या गाडे, खेलु सारी मनि हौस भारी’ हो ।

कार्यक्रममा गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ गीतकार राजेन्द्र थापा, नेपाल साङ्गीतिक संघका अध्यक्ष मिलन मोक्तान, व्यवसायी रुद्र शर्मा, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ अभिनेता कृष्ण मल्ललगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रममा कलाकार सुनिल हरिजन, साहिल महर्जन, सुष्मा राजभण्डारी, मदन श्रेष्ठ, रमेश कुँवर, सुजन वीर बज्राचार्य, विनोद गिरी लगायतका पेन्टिङ आर्टिस्टहरूले लता मंगेशकरको तस्बिर कोरेका थिए ।