आधा दर्जन हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ले सय दिन मनाउँदै, दर्शकलाई विशेष अफर घोषणा

काठमाडौं । सर्वकालीन ब्लकबस्ट नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको सय दिन पुगेको अवसरमा सय रुपैयाँमा टिकट बेच्ने भएको छ । यो सिनेमाले भोलि (शुक्रबार) आधा दर्जन हलमा प्रदर्शनको सय दिन मनाउँदै छ ।

‘पूर्णबहादुरको सारंगी’ले काठमाडौंको सामाखुसी, रञ्जना, बनेपा, बुटवल र धरानलगायत हलमा एक सय दिन मनाउन लागेको हो ।

सय दिन पुगेको अवसरमा यसको निर्माण पक्षले दर्शकलाई विशेष अफर प्रदान गर्ने घोषणा गरेको छ । जसअन्तर्गत दर्शकहरूले टिकट मात्र १०० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

चलचित्रका निर्माता विनोद पौडेलका अनुसार यो अवसरलाई दर्शकसँगको सम्बन्ध अझ बलियो बनाउन प्रयोग गरिएको हो । उनले भने, “प्रदर्शनको सय दिन पुगेको अवसरमा दर्शकलाई १०० रुपैयाँमै टिकट उपलब्ध गराउने निर्णय गरेका छौँ ।”

‘पूर्णबहादुरको सारंगी’ नेपालमा हालसम्म सबैभन्दा धेरै कमाउने यो चलचित्र बनिसकेको छ भने आधा दर्जन हलमा सय दिन प्रदर्शन हुने चलचित्रको रेकर्ड भने सिनेमाको नाममा बनेको छ ।

व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल ‘पूर्णबहादुरको सारंगी’ ले नेपालभित्र र विदेश गरी ७५ करोड भन्दा बढी ग्रस कलेक्सन गर्न सफल भएको छ ।

एक करोड ३० लाखमा बनेको यस चलचित्रले नेपाली बक्सअफिसबाट मात्रै करिब ४८ भन्दा माथि ग्रसकलेक्सन गरेको थियो भने ओभरसिज मार्केटबाट २७ करोड हाराहारी कलेक्सन भएको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्र ‘दिमाग खराब’ पछि सय दिन मनाउने पहिलो चलचित्र हो । दुई वर्षअगाडि ‘दिमाग खराब’ले प्रदर्शनको सय दिन मनाएको थियो ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी र जान्वी पौडेल मुख्य भूमिकामा छन् । 

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ छन् ।

‘पूर्णबहादुरको सारंगी’को दोस्रो भाग अर्थात् सिक्वेल निर्माण हुने घोषणा भइसकेको छ । केही दिनअघि चलचित्र सफलताको खुसीयाली कार्यक्रममा निर्माता विनोद पौडेलले सिक्वेल निर्माणको घोषणा गरेका हुन् ।

सभेन सिज सिनेमाको ब्यानरमा निर्माण हुने ‘पूर्णबहादुरको सारंगी २’लाई २०८३ सालमा रिलिज गरिनेछ । ‘पूर्ण बहादुरको सारङ्गी-२’ कसले निर्देशन गर्नेछन् त्यो भने खुलाइएको छैन । यसअघि यसका निर्माताले बालमनोविज्ञानमा आधारित रहेर चलचित्र ‘रोल नं १’ बनाउने भएका छन् । ‘रोल नं १’ लाई जोन योञ्जनले निर्देशन गर्नेछन् ।