‘दुखी आत्मा’ बारे दयाहाङ राई भन्छन् – यौन स्वास्थ्यको कथा भन्न जरुरी छ

काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको एडल्ट सिनेमा ‘दुखी आत्मा’ फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ ।
यो चलचित्रको केही दिनअघि यौन दुर्बलता (इरेक्टाइल डिस्फङ्कसन)बाट पीडित पात्रको वरिपरि घुमेको ट्रेलर सार्वजनिक गरिएको थियो । जहाँ यौन चाहना भएपनि यौन दुर्बलताका कारण भोग्नुपरेको समस्यालाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।
यो चलचित्रको टिजर, ब्रेकअप कविता र ट्रेलर बाहिर आएपछि यसलाई लिएर विभिन्न कोणबाट प्रतिक्रिया व्यक्त भइरहेको छ । ट्रेलरलाई लिएर सकारात्मक र नकारात्मक दुवै किसिमका धारणा आएका छन् ।
विशेषगरि सिनेमाको मुख्य भूमिकामा रहेका दयाहाङले यस्तो विषयवस्तु समेटिएको चलचित्र किन रोजे भनेर दर्शकहरुले प्रश्न उठाएका छन् भने, केहीले फरक धारको कथा रोजेकोमा उनको प्रशंसा गरेका छन् ।
बुधबार चलचित्रका बारेमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अभिनेता राईले मानसिक स्वास्थ्य मात्रै नभई यौन स्वास्थ्यबारे पनि खुलेर बहस गर्न आवश्यक रहेको बताएका छन् । साथै, समाजमा यौनलाई अझै पनि गोप्य रूपमा राख्ने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने बताए ।
“मानसिक स्वास्थ्यको विषयमा मात्र होइन, यौन स्वास्थ्यबारे पनि खुलेर कुरा गर्न जरुरी छ,” उनले भने, “हाम्रो समाजमा यौन विषयलाई लुकाएर राख्ने गरिन्छ, तर यो जीवनसँग प्रत्यक्ष जोडिएको चासोको विषय हो । भारतमा पनि ४० वर्षअघि मात्र यौन स्वास्थ्यसम्बन्धी कथाहरू फिल्ममा देखाउन थालिएको थियो । अब हामीले पनि यो विषयमा जानकारी दिनुपर्छ ।”
उनले आफूले खेलेको पछिल्लो फिल्म यौन स्वास्थ्यसँग सम्बन्धित भए पनि कुनै असहजता महसुस नगरेको बताए । “कतिपय साथीहरूले किन यस्तो फिल्म खेलेको भनेर सोध्नुहुन्छ, तर मलाई त कुनै असहज महसुस नै भएन । कलाकारका लागि यो व्यक्तिगत निर्णय हो,” उनले थपे ।
परिवारका साथ फिल्म हेर्न गाह्रो हुने भए पनि दर्शकले यसलाई फरक ढंगले लिने विश्वास उनले व्यक्त गरे । “यसपालि मेरो फिल्म सपरिवार हेर्न जान गाह्रो होला, तर अलग-अलग गएर हेर्ने हो,” उनले हँसिलो पाराले भने ।
दयाहाङले स्वस्थ समाज निर्माणका लागि यौन स्वास्थ्य जस्ता विषयहरूबारे खुलेर बहस गर्नुपर्ने र जनचेतना फैलाउनु महत्त्वपूर्ण रहेको बताए । “जबसम्म यस्ता विषयहरूबारे खुलेर छलफल हुँदैन, तबसम्म समाजमा अनेक भ्रमहरू रहिरहन्छन्,” उनले उल्लेख गरे ।
यो चलचित्रमा दयाहाङसँगै आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दीया मास्के, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।
हिमाल कडरियाको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सुदीप ढकाल हुन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।
चलचित्रमा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । क्लर्क वर्क क्रिएसनको व्यानरमा निर्माण भएको चलचित्र फागुन २ गते प्रेम दिवसको अवसर पारेर रिलिज हुँदै छ ।