कंगना रनौतको कानूनी समस्या जटिल बन्दै, गैर जमानती वारेन्ट जारी हुन सक्ने

काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)की लोकसभा सांसद कंगना रनौतविरुद्ध मुम्बई अदालतले गैर जमानती वारेन्ट जारी गर्ने चेतावनी दिएको छ । यदि उनी आउँदो सुनुवाइमा उपस्थित नभए, उनलाई पक्राउ गर्न सकिने भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।
यसअघि अदालतले कंगनालाई अन्तिम पटक सुनुवाइमा उपस्थित हुन आदेश दिएको थियो । तर, उनी अदालतमा नआएपछि, अब गैर जमानती वारेन्ट जारी गर्ने तयारी भइरहेको छ ।
जावेद अख्तरसँग लामो समयदेखि चलिरहेको मानहानि मुद्दामा कंगना रनौत कुनै पनि मध्यस्थता प्रक्रियामा सहभागी भएकी छैनन् । अदालतले उनलाई अन्तिम अवसर दिएको छ, तर उनी उपस्थित नभए कानूनी प्रक्रिया अघि बढाइनेछ ।
कंगनाका वकिल रिजवान सिद्दिकीले अदालतलाई जानकारी गराउँदै भने कि उनी संसदीय काममा व्यस्त थिइन्, जसकारण सुनुवाइमा उपस्थित हुन नसकेको दाबी गरेका छन् । तर, जावेद अख्तरका वकिल जय के भारद्वाजले अभिनेत्रीविरुद्ध गैर जमानती वारेन्ट जारी गर्न माग गरेका छन् । उनका अनुसार कंगना करिब ४० पटक अदालतको सुनुवाइमा अनुपस्थित भएकी छिन् ।
अदालतले कंगनाका वकिललाई जवाफ पेश गर्न भनेको छ, तर वकिलले गैर जमानती वारेन्टको विरोध गरेका छन् । यस्तो अवस्थामा, मजिस्ट्रेटले कंगनालाई अन्तिम मौका दिने निर्णय गरेका छन् ।
यो विवाद २०१६ को एक बैठकसँग जोडिएको छ, जहाँ जावेद अख्तरले कंगना रनौतलाई ऋतिक रोशनसँगको विवाद टुंग्याउन सल्लाह दिएका थिए । कंगनाले त्यसबेला कुनै प्रतिक्रिया नजनाए पनि २०२० मा सुशान्त सिंह राजपुतको मृत्युपछि दिएको अन्तर्वार्तामा उनले उक्त भेटघाटको खुलासा गरेकी थिइन् । त्यसपछि जावेद अख्तरले कंगनाविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।
अब अदालतको अन्तिम चेतावनीपछि कंगना रनौत अदालतमा उपस्थित हुने या कानूनी कारबाहीको सामना गर्ने भन्ने टुंगो छिट्टै लाग्नेछ।