‘पूर्ण बहादुरको सारङ्गी’को ऐतिहासिक सफलता, बन्यो नयाँ कीर्तिमानी

काठमाडौं । सर्वकालीन ब्लकबस्ट नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनको सय दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र शुक्रबारबाट प्रदर्शनको अर्को महत्त्वपूर्ण ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन हुने चलचित्र बनेको छ । यो सिनेमाले काठमाडौंको क्यूएफएक्स सिटी स्क्वायर र राइजिङ, फ्रेन्ड्स सिनेमाज धरान र बुटवल, रञ्जना सिनेप्लेक्स, बनेपाको शुभकामना सिनेमासहितका हलमा सय दिन मनाएको छ ।
यो सँगै ‘पूर्णबहादुरको सारंगी’को नाममा सबैभन्दा धेरै हलमा सय दिन प्रदर्शन हुने चलचित्रको कीर्तिमानी बनेको छ ।
व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल ‘पूर्णबहादुरको सारंगी’ ले नेपालभित्र र विदेश गरी ७५ करोड भन्दा बढी ग्रस कलेक्सन गर्न सफल भएको छ ।
एक करोड ३० लाखमा बनेको ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपाली बक्सअफिसबाट मात्रै करिब ४८ करोड भन्दा माथि ग्रसकलेक्सन गरेको थियो भने ओभरसिज मार्केटबाट २७ करोड हाराहारी कलेक्सन भएको थियो ।
चलचित्र ‘दिमाग खराब’पछि सय दिन मनाउने पहिलो चलचित्र हो । दुई वर्षअगाडि ‘जारी’ र ‘दिमाग खराब’ले पनि सय दिन मनाएका थिए । ‘दिमाग खराब’ले पाँच वर्षपछि सय दिन प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्र ‘दिमाग खराब’ पछि सय दिन मनाउने पहिलो चलचित्र हो । यसैबीच, प्रदर्शनको सय दिन पुगेको अवसरमा निर्माणपक्षले दर्शकलाई एक सय रुपैयाँमा टिकट उपलब्ध गराएको छ ।
१७ लाखबाट ओपनिङ गरेको एउटा सिनेमा जसले नेपाली सिनेमाको वक्सअफिसमा सारा कीर्तिमानहरू भंग गर्यो र नेपाली सिनेमाको आयातन कतिसम्म छ भनेर छर्लङ्ग बनाइ दियो । यस क्रममा यसले सर्वकालिक सुपरहिट कमाइ गर्दै थुप्रै कीर्तिमानहरू बनायो ।
यी कीर्तिमानहरू जो निम्न प्रकार रहेका छन्:
सर्वाधिक व्यापार गर्ने सिनेमा
सर्वाधिक शो पाउने सिनेमा
सर्वाधिक एक दिने कलेक्सन गर्ने सिनेमा
सर्वाधिक साताव्यापी कमाइ गर्ने सिनेमा
दोस्रो सातामा सर्वाधिक कमाइ गर्ने सिनेमा
डायस्पोरामा सर्वाधिक शो पाउने सिनेमा
डायस्पोरामा सर्वाधिक कमाउने सिनेमा
सर्वाधिक मुनाफा आर्जन गर्ने सिनेमा
सर्वाधिक हलमा ५१ दिन मनाउने सिनेमा – ३८ वटा हलमा ५१ दिन मनाउन सफल
सर्वाधिक हलमा सय दिन मनाउने पहिलो सिनेमा
सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी र जान्वी पौडेल मुख्य भूमिकामा छन् ।
महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ छन् ।
यसका चलचित्रका निर्माता पौडेल र निर्देशक पौडेलले सामाजिक संजालबाट फ्यानलाई १०० दिनको अवसरमा धन्यवाद दिएका छन् ।
‘पूर्णबहादुरको सारंगी’को दोस्रो भाग अर्थात् सिक्वेल निर्माण हुने घोषणा भइसकेको छ । केही दिनअघि चलचित्र सफलताको खुसीयाली कार्यक्रममा निर्माता विनोद पौडेलले सिक्वेल निर्माणको घोषणा गरेका हुन् ।
सभेन सिज सिनेमाको ब्यानरमा निर्माण हुने ‘पूर्णबहादुरको सारंगी २’लाई २०८३ सालमा रिलिज गरिनेछ । ‘पूर्ण बहादुरको सारङ्गी-२’ कसले निर्देशन गर्नेछन् त्यो भने खुलाइएको छैन । यसअघि यसका निर्माताले बालमनोविज्ञानमा आधारित रहेर चलचित्र ‘रोल नं १’ बनाउने भएका छन् । ‘रोल नं १’ लाई जोन योञ्जनले निर्देशन गर्नेछन् ।