किन रोकियो तुलसी घिमिरेको चलचित्र ‘पहाड’को छायांकन ? सुटिङ युनिट काठमाडौं फिर्ता

काठमाडौं । निर्देशक तुलसी घिमिरेको चलचित्र ‘पहाड’को छायांकन रोकिएको छ । सात वर्षपछि निर्देशनमा फर्किएका घिमिरेको चलचित्रको छायांकन रोकिएको हो ।

चलचित्र ‘पहाड’को छायांकन गत मंगलबार गोर्खा दरबारमा विशेष पूजापछि सुरु गरिएको थियो । तर, मुहूर्त सटबाहेक चलचित्रको छायांकन हुन सकेन ।

स्रोतका अनुसार निर्देशक घिमिरे बिरामी परेकाले छायांकन रोकिएको हो । छायांकन सुरु भएकै दिनदेखि घिमिरेलाई ज्वरो आएपछि उनको युनिटले काम गर्न सकेन । चिकित्सकले आराम गर्न भनेपछि निर्माण टिम अहिले काठमाडौं फर्किरहेको छ ।

अब निर्देशक घिमिरे पूर्ण रूपमा स्वस्थ भएपछि मात्रै चलचित्रको छायांकन सुरु हुनेछ ।

एक समय थुप्रै सुपरहिट चलचित्र दिएर नेपाली चलचित्रको इतिहासमा स्मरणीय नाम बनाएका निर्देशक घिमिरे सात वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् । उनले पछिल्लो ‘दर्पणछाया –२’ पछि निर्देशनबाट केही समय विश्राम लिएका थिए ।

गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन छायांकन हुने चलचित्रको मुहूर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले गरेका थिए ।

यही चलचित्रमार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई नेपाली रजतपटमा डेब्यु गराउँदै छन् । उनले यस सिनेमामा अरुणसँग जोडी बाँध्नेछिन् ।

यस चलचित्रको मुख्य कथावस्तु बसाइँसराइका कारण रित्तिँदै गएको पहाडी भूगोलमा आधारित रहेको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको सिनेमाको लेखन निर्देशक घिमिरेले नै गरेका हुन् ।

छायांकन सुरु गरेसँगै निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्र ‘पहाड’मार्फत दर्शकसमक्ष पुर्याउन लगिएको बताएका छन् ।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा मदनकृष्ण, अरुण र पञ्चमीसँगै विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनील थापा, प्रियांका कार्की, आशा पौडेल, रेणू योगी, अंकित खड्कालगायत कलाकारले अभिनय गर्दै छन् ।

रञ्जित गजमेर सङ्गीत, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेको यस चलचित्रका पोडक्शन म्यानेजर दिलिप पन्त हुन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको सिनेमालाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।