‘बलिदान’ फूलपातीमा रिलिज हुने, सातवटा सिनेमालाई झड्का

काठमाडौं । चलचित्र ‘बलिदान’ले रिलिज डेट लक गरेको छ । निर्माणपक्षले हालसम्म औपचारिक रूपमा जानकारी नदिए पनि भित्रभित्रै रिलिज डेट लक गरिसकेको हो ।

स्रोतका अनुसार यो चलचित्र यही दसैँमा रिलिज हुनेछ । दसैँको फूलपातीका दिन रिलिज गर्ने निर्माणपक्षले तयारी गरेको छ ।

‘१२ गाउँ’ रिलिज भएकै डेट फूलपातीका दिन ‘बलिदान’ रिलिज हुने भएको हो । सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘बलिदान’मा समीर भट्ट मुख्य भूमिकामा छन् । ‘१२ गाउँ’मा पनि समीर हिरो थिए ।

‘१२ गाउँ’ले २६ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको यसको निर्माणपक्षले दाबी गरेको थियो ।

दुई दिन अगाडि मोरङको हसिना सिमसार क्षेत्रमा क्लाइमेक्स सिन खिचेको ‘बलिदान’को छायांकन सकिएको छ । सुटिङ टिम अहिले काठमाडौं फर्किरहेको छ ।

यसअघि नै दसैँका लागि रिलिज डेट लिएका चलचित्रलाई सन्तोष सेनले झड्का दिएका छन् । आधा दर्जन चलचित्रले दसैँको फूलपातीका लागि रिलिज गर्ने घोषणा गरिसकेका छन् ।

सुटिङमा जानु कहिले/कहिले दसैँलाई भन्दै रिलिज डेट बुक अहिल्यै ?

हालसम्म अशोक शर्मा, प्रदीप भट्टराई, रोहित अधिकारी, विराज विष्ट, भुवन केसी, सुशील पोखरेल, सरोज न्यौपाने, वसन्त निरौलाले दसैँमा चलचित्र रिलिज गर्ने बताएका छन् । ‘बलिदान’ आउने भएपछि यो डेटमा विराज भट्टको चलचित्र भने आउने छैन ।

यी सबै चलचित्र एकै दिन रिलिज गर्न सम्भव छैन । त्यसैले यसमध्ये कुनकुन चलचित्र पछि हट्ने हुन् निश्चित छैन ।

करिब ९ करोड बजेट रहने भनिएको चलचित्र ‘बलिदान’मा समीर भट्टसँगै सौगात मल्ल मुख्य भूमिकामा छन् । समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी छन् । सिनेमालाई राम्रो बनाउन कुनै कम्प्रमाइज नगर्ने सन्तोषका हरेक सिनेमा निर्माण घोषणादेखि नै प्रतिक्षित बन्छन् ।

‘बलिदान’मा समीर मुख्य भूमिकामा जोडिएसँगै यो सिनेमा झनै प्रतिक्षित बनेको छ ।

‘१२ गाउँ’ समीरकै कारण ठूलो हाइप बनाएर २६ करोडभन्दा बढी कलेक्सन गरेको थियो । सोही कारण र सन्तोषको मेघा प्रोजेक्ट भएकाले ‘बलिदान’ प्रतिक्षित बनिसकेको छ । यो एक्स जनरामा बनेको मधेस केन्द्रित कथामा बनेको चलचित्र हो ।