‘वर्ल्ड अफ डान्स नेपाल’ सम्पन्न, विजेताहरु अमेरिका जाने

काठमाडौं । नेपाली नृत्य समुदायका लागि ऐतिहासिक क्षण बनेको ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । विश्वप्रसिद्ध अमेरिकी डान्स च्याम्पियनशिप फ्रेन्चाइज कार्यक्रम नेपालमा पहिलोपटक आयोजित गरिएको हो ।
माघ २४ गते काठमाडौंको अलफ्ट होटल ठमेलमा सम्पन्न भएको ग्राण्ड फिनालेमा देशभरका विभिन्न जिल्लाबाट आएका ३३ उत्कृष्ट समूहले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।
पूर्व नेपालको धनकुटा देखी पश्चिम कैलाली सम्मका ३३ वटा ग्रुप मध्ये अपर टिम डिभिजन तर्फ बुटवलका द ब्रेभ गोरखा विजेता बने भने काठमाडौंका ग्रुभ ओभरडोज रनरअप र ललितपुरका वाई स्ट्याण्ड क्रू सेकेन्ड रनरअप घोषित भए ।
यसैगरि, ग्राण्ड फिनालेमा जुनियर टिम डिभिजन तर्फ काठमाडौंका नेपा डान्स एकाडेमी विजेता, मोरङका ह्याण्ड टु ह्याण्ड क्रू रनरअप र ललितपुरका क्रिएटर क्रू सेकेन्ड रनरअप भए ।
यस्तै, अपर डिभिजन तर्फ कैलालीका बब्लू एण्ड रोहित विजेता, काठमाडौंका स्वस्तिक अर्याल रनरअप र झापाका एसएनएस क्विन्स सेकेन्ड रनरअप भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता दंगोलले विजेता टिमहरुलाई ट्रफी, चेक तथा मेडल प्रदान गरेकी थिइन् । यी सबै विजेताले आगामी जुलाईमा अमेरिकामा हुने वर्ल्ड फाइनलमा नेपाललाई प्रतिनिधित्व गर्न पाउनेछन् ।
शोका नेशनल डाइरेक्टर रोशन गहतराजका अनुसार नेपाली नृत्यकलालाई विश्वमञ्चमा स्थापित गर्न तथा नेपाली कला, संस्कृति उजागर गर्न यो प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताका निर्णायकहरुमा प्रख्यात कन्टेम्पोररी डान्सर जेडी तमू, ऐवरेस्ट क्रूका निशान्त गौचन र पपर मुकेश ढकाल थिए । निर्णायक तथा आर्टिस्टिक डाइरेक्टर जेडी तमूले भने, “नेपाली नृत्य क्षेत्र लामो समयदेखि सुस्ताएको अवस्थामा थियो । ‘वर्ल्ड अफ डांस नेपाल’ यसलाई पुनः सक्रिय बनाउने ऐतिहासिक आन्दोलन तथा नयाँ शुरुवात हो ।”
भारतका चर्चित डान्स रियालिटी शो डान्स इंडिया डान्स लिटिल मास्टर तथा झलक दिखला जा की विजेता तेरिया मगर, भोइस अफ नेपाल का सञ्चालक सुशील नेपाल लगायत चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो ।
मण्डला इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता नेपालकै पहिलो लक्जरी डान्स च्याम्पियनशिप भएको बताइएको छ ।