दीपक रौनियारका चलचित्रमा किन छुट्दिनन् आशा मगराती ?

काठमाडौं । निर्देशक दीपक रौनियारका अधिकांश चलचित्रमा आशा मगराती छुट्दिनन् । फिचर फिल्म होस् वा छेटा फिल्म आशाले ठाउँ पाउँछिन् ।
सकेसम्म दीपकका चलचित्रमा मुख्य भूमिकामै आशा देखिन्छिन् । ‘राजागंज’मा पनि उनी मुख्य भूमिकामा छिन् । यो चलचित्र प्रदर्शनको तयारीमा छ ।
दीपकको यसअघि प्रदर्शन भएको चलचित्र ‘ह्वाइट सन’मा पनि आशा मुख्य भूमिका मध्येकै एक रोलमा थिइन् । फिमेल आर्टिस्टतर्फ उनी मुख्य भूमिकामा थिइन् । यो चलचित्र थुप्रै इन्टरनेसनल फिल्म फेस्टिभलमा पुगेको थियो ।
त्यसअघिको दीपकको चलचित्र ‘हाइवे’मा पनि आशाको अभिनय थियो । जुन दीपकको पहिलो फिचर फिल्म थियो ।
दीपकले निर्देशन गरेको सर्ट फिल्म ‘फोर नाइट्स’मा पनि आशा छुटेकी छैनन् ।
आशा र दीपक सम्बन्धले श्रीमानश्रीमती हुन् ।
दीपकका चलचित्रमा अर्का एक कलाकार पनि छुट्दैनन् । र ती हुन्– दयाहाङ राई । छोटो भूमिकामा भए पनि दयाहाङ दीपकका चलचित्रमा नछुट्ने व्यक्ति हुन् । ‘हाइवे’, ‘सेतो सूर्य’, ‘राजागंज’ र ‘फोर नाइट्स’ सबैमा दयाहाङ समेटिएका छन् ।
दीपक आफ्ना हरेक चलचित्र ठूला इन्टरनेसन फिल्म फेस्टिभलमा पुर्याउने सीमित निर्देशकमध्ये एक हुन् ।
दीपक निर्देशित ‘राजागंज’ चैत १ गते रिलिज हुँदै छ । यो चलचित्रको टिजर सार्वजनिक भइसकेको छ ।
यो चलचित्रमा सातजना महिला पात्र मुख्य भूमिकामा छन् । आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चाण्डक, पुष्पा यादव र आरती मण्डलसहित सात महिला पात्र छन् । चलचित्रमा दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।
‘राजागंज’ भेनिस, ह्याम्बर्ग, बुसान, मुम्बईजस्ता विश्वका ठूला चलचित्र महोत्सवमा पुगिसकेको छ ।
यो चलचित्रलाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन् ।
सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ । जुन टिजरमा पनि देखाइएको छ ।