‘महाराजाधिराज’ छायांकनमा नजाँदै विवादमा तानियो, तत्काल नसच्चिए देशव्यापि आन्दोलन गर्ने चेतावनी

काठमाडौं । चलचित्र ‘महाराजाधिराज’ छायांकनमा नजाँदै विवादमा तानिएको छ । नामलाई लिएर ‘राष्ट्रिय सरोकार मञ्च, नेपाल’ले आपत्ति जनाएसँगै यो चलचित्र विवादमा तानिएको हो ।

‘महाराजाधिराज’को पोस्टर तथा प्रचार सामग्रीले नेपाली जनताको भावनामा गम्भीर चोट पुर्याएको मञ्चले जनाएको छ । ‘महाराजाधिराज’ले राष्ट्र विरोधी, संस्कृति विरोधी गतिविधि गरेको मञ्चको आरोप छ ।

मञ्चले चलचित्र विकास बोर्डको काम राष्ट्रिय पहिचान, कला, संस्कृति र सभ्यतासँग मेल खाने चलचित्रलाई प्रोत्साहित गर्नु, नियमन गर्नु र विकृति तथा विसंगति रोक्नु रहेको जनाएको छ । तर बोर्डले ‘महाराजाधिराज’का सन्दर्भमा आँखा चिम्लिएको मञ्चको आरोप छ ।

“बोर्डले किन आँखा चिम्लेको छ ? नेपाल चलचित्र विकास बोर्ड के नियमन गरिरहेको छ ? के हेरिरहेको छ ?” मञ्चले बोर्डलाई प्रश्न गरेको छ, “नेपालको इतिहास र धार्मिक भावनालाई अपमानित गर्ने यस्तो चलचित्रलाई पास गर्ने, प्रचार गर्न दिने र नियमन नगर्ने जिम्मेवारी कसको हो ?”

राष्ट्रिय सम्मानका चिह्नहरू राजमुकुट, राजदण्ड, महाराजाधिराज पदवीलाई मजाक बनाउने कार्य गर्न बोर्डले दिएको भन्दै मञ्चले भनेको छ, “फौजदारी संहिता २०७४ को दफा १५८ ले धार्मिक आस्थामाथि प्रहारलाई अपराध मान्छ । चलचित्र विकास बोर्डले किन यो कानुनी दायित्व पूरा गरिरहेको छैन ?”

‘महाराजाधिराज’को नामका सन्दर्भमा बोर्डले तत्काल आवश्यक कारबाही अघि नबढाएमा, यथास्थितिमा चलचित्र अगाडि बढ्न दिएमा मञ्चले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

“शान्तिपूर्ण विरोध र रचनात्मक अपत्ति व्यक्त गर्दा पनि बेवास्ता गरिए यने चलचित्रको प्रदर्शन रोक्न भौतिक रुपमा लाग्न बाध्य हुनेछौँ,” मञ्चले भनेको छ, “हामी नेपाली सभ्यता, धर्म, संस्कृति र गौरवमाथि कुनै पनि प्रहारलाई सहन तयार छैनौँ । बोर्डले तत्काल निर्णय गरेर यो चलचित्र रोक्ने घोषणा गरोस्, अन्यथा सशक्त राष्ट्रव्यापी अभियानमार्फत यस कार्यलाई हामी रोक्न बाध्य हुने छौँ ।”

राष्ट्र, संस्कृति, र इतिहासमाथि धावा बोल्नेलाई कदापि माफ नगर्ने मञ्चको चेतावनी छ । “हाम्रो आस्थाको केन्द्र र धरोहर राजसंस्थाप्रति कुनै पनि कटाक्ष सहय हुँदैन,” मञ्चले भनेको छ ।

यसैबीच, चलचित्र विकास बोर्डले चलचित्रको निर्माणपक्षलाई मञ्चसँग छलफल गरेर टुंगोमा पुग्न भनेको छ । मञ्चले उठाएको विषयमा छलफल गर्न बोर्डले चलचित्रको निर्माणपक्षलाई भनेको छ ।

माघे संक्रान्तिको अवसरमा चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रको फस्टलुकले दर्शकमाझ उत्सुकता जगाएको छ ।

चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ ।

पोस्टरमा दुईवटा कलाकार देखिएका छन् । एकजना राजर्षी पहिरनमा रहेको देखिन्छन् भने अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ । राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्दछ । उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन् ।

यो तस्बिर भित्तामा फ्रेममा राखिएको जस्तो देखिन्छ । यसले आफ्ना दरसन्तानको सम्झनामा पछिल्लो पुस्ताले फ्रेमिङ गरेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, प्रष्ट छैन ।

यो फस्र्टलुकले समस्या आफैँमा रहेको झल्को देखिन्छ । ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ लेखिएको स्लोगनले व्यक्ति स्वयंमा समस्या रहेको संकेत गर्छ । राजा होस् वा नागरिक समस्या हरेक व्यक्तिमा छ भन्ने यो स्लोगन र पोस्टरले बताउँछन् ।

त्यसैले सिनेमाले पनि व्यक्ति हरेक व्यक्तिमा छ भन्ने कथा भन्ने अनुमान लगाउन सकिन्छ । विशेष कुरा के छ भने, यी दुवै पात्र पल शाहले निभाएका हुन् ।

फस्टलुक पोस्टर र स्लोगनको कारणले चलचित्रले दर्शकहरूलाई गहिरो सन्देश दिने अपेक्षा गरिएको छ । निर्माण पक्षले फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै बाँकी सामग्री ट्रेलरमा आउने बताएको छ । जसअनुसार अब ट्रेलर सार्वजनिक भएपछि थप जानकारी पाइनेछ ।

चलचित्रको फस्टलुक पोस्टरले दर्शकमा उत्सुकता जगाउने निश्चित छ । परिच्छेद सेनले निर्देशन गर्ने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् ।‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।

चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन् । यो चलचित्र दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ ।

माघे संक्रान्तिको अवसर पारेर चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रको फर्स्टलुक सार्वजनिक गरिएको थियो ।

‘महाराजधिराज’को स्लोगन ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ ।

पोस्टरमा दुई कलाकार देखिएका छन् । एकजना राजर्षी पहिरनमा रहेको देखिन्छन् भने अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ । राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्छ । उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन् । दुवै पात्र पल शाहले निभाएका हुन् ।

परिच्छेद सेनले निर्देशन गर्ने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।

चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन् । यो चलचित्र दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ ।