बोर्डले जनकपुरमा चलचित्र शिविर सञ्चालन गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले मधेश प्रदेशको जनकपुरमा फागुन १३, १४ र १५ गते चलचित्र शिविर सञ्चालन गर्ने भएको छ ।

मधेशमा चलचित्रबारे अभिरुची र चेतना जागृत गराई त्यहाँको बजारलाई विस्तार र सदृढ बनाउने तथा चलचित्र मार्फत समभावको संस्कृति विकास गर्ने लक्ष्यसहित मधेशमा नेपाली तथा मातृभाषा चलचित्रको अवस्था, बजार तथा दर्शक रुचीको अध्ययन÷सर्भेक्षण गर्ने, मधेशका युवा चलचित्रकर्मीहरुलाई चलचित्र नीति, विधिबारे अभिमूखिकरण गर्ने, मधेशी समाजका मौलिक, नवीन औ उत्कृष्ट कथाहरुको खोजी गर्ने, चलचित्रसंग सम्बन्धी विषयक्षेत्रबारे वहस÷विमर्श गर्ने उद्देश्यले चलचित्र शिविर सञ्चालन गर्न लागिएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।

‘चलचित्र शिविर कार्यक्रम नेपाली चलचित्र उद्योगमा दूरगामी प्रभाव पार्ने एक विशेष अभियान हो । यो चलचित्रीय कार्यक्रम मात्रै होइन, चलचित्र मार्फत देश जोड्ने एक महत्वपूर्ण सेतु हो । समभावको व्यवहार र संस्कृति विकास गरी सामाजिक÷सांस्कृतिक सदभाव, सहिष्णुता र राष्ट्रिय एकतालाई सबल बनाउने यो एउटा सांस्कृतिक एकीकरणको एक प्रयास हो’ अध्यक्ष डिसीले भने ।

बोर्डले चलचित्र शिविर अभियान सञ्चान गर्न बोर्ड सदस्य केएल बुढाथोकीलाई संयोजक तोकेको छ । बोर्ड सदस्य एवं संयोजक बुढाथोकीका अनुसार चलचित्र शिविर अन्तर्गत चलचित्र प्रदर्शन, पोष्टर तथा फोटो प्रदर्शनी, परामर्श सेवा, कार्यशाला, चलचित्र सम्बन्धी अभिमुखीकरण, अन्तरक्रिया, संवाद, संगोष्ठी, चलचित्र सम्मेलन जस्ता कार्यक्रमहरु आयोजना गरिनेछ ।