इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिएको ‘अञ्जिला’को टिजर सार्वजनिक

काठमाडौं । मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘अञ्जिला’ को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन २९ गते रिलिज हुने यो चलचित्रको टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ ।
टिजरमा सुब्बाले स्कूले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको संघर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको छ । एञ्जिला आफैं चलचित्रको प्रमुख भूमिकामा देखिएकी छन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका माता-पिताको भूमिकामा देखिएका छन् ।
घरभित्रको सङ्घर्षदेखि कप्तान बन्ने यात्रासम्मको कथा समेटिएको टिजरको सुरुवातमा रेडियो प्रसारणमार्फत ‘अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई प्रतिनिधित्व गर्ने निष्कलङ्क एउटा विधा छ भने त्यो खेल नै हो’ भन्ने संवाद राखिएको छ ।
टिजरमा पिता फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन् । एञ्जिलाका पिताले ‘तेरो फुटबलले मेरो इज्जत गयो’ भनेका छन् भने आमाले ‘मलाई विश्वास छ, तँ फर्केर आउँदा तेरो पछि भीड लाग्नेछ, र मैले छाती खोलेर ढ्याङ्ग्रो ठटाएर भन्छु कि मेरो छोरी आउँदै छे’ भन्ने संवाद बोलेकी छन् । साथै, टिजरमा विद्यालयमा एञ्जिलाले ‘अब फुटबल खेल्दिनँ भनेर बुबासँग पैसा मागेर ल्याएकी हुँ, मेरो ठाउँमा अरू कसैलाई खेलाउनु है’ भन्ने संवादले उनको संघर्षपूर्ण यात्रालाई झल्काउँछ।
निर्देशक मिलन चाम्सका अनुसार यो चलचित्र एञ्जिलाको वास्तविक कथामा आधारित रहेको छ । उनले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन चलचित्र निर्माण गरिएको बताएका छन् ।
चलचित्रमा एञ्जिला तुम्बापो सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको अभिनय रहेको छ। साथै, निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।
चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौंमा गरिएको छ । सुदीप बरालले छायाङ्कन गरेका छन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल, र राजेश बगडिया सह-निर्माता हुन् ।
चलचित्र ‘अञ्जिला’ले महिला खेलाडीको संघर्षलाई पर्दामा उतार्दै दर्शकमाझ प्रेरणादायी कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।