‘वसन्त’को टिजरमा के छ ?

काठमाडौं । वर्षकै प्रतिक्षित मध्यको एक चलचित्र ‘वसन्त’को टिजर सार्वजनिक भएको छ ।

टिजरमा चलचित्रका मुख्य पात्रले कविता वाचन गरेका छन् । मिलनले वाचन गरेको प्रेमिल कविता चलचित्रकी अर्की मुख्य पात्र शान्तिसहित अरूले सुनिरहेका छन् ।

प्रेम दिवसको शुभकामना दिँदै टिजर सार्वजनिक गरिएको छ । ‘वसन्त’मा मुख्य भूमिकामा प्रकाश सपूत र स्वस्तिमा खड्का छन् ।

चलचित्रमा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ ।

प्रकाश सपूतले निर्देशन गरेको चलचित्रको कथा पनि उनले नै लेखेका छन् । ‘वसन्त’ चैत २२ गते प्रदर्शन हुँदै छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामामा कथा, पटकथा र संगीत पनि सपूतले नै तयार पारेका हुन् ।

‘वसन्त’ले एक विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा भन्नेछ ।

चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।