फ्राइडे रिलिजमा ‘दुःखी आत्मा’ र ‘रंगी’, दर्शकको विश्वास कसलाई रहला ?

काठमाडौं । प्रणय दिवसको अवसर पारेर आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘दुःखी आत्मा’ र ‘रंगी’ आजबाट प्रदर्शनमा आएका हुन् ।
मल्टिप्लेक्स चेनहरूले ‘दुःखी आत्मा’ लाई बढी प्राथमिकता दिएका छन् । तुलनात्मक रूपमा ‘रंगी’ले केही कम शो पाएको छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘दुःखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, लोकेन्द्र लेखक, शिशिर वाङ्गदेललगायत कलाकारको अभिनय छ ।
सुरेश न्यौपाने निर्देशित ‘रंगी’मा सलोन बस्नेत, दीलिप रायमाझी, नम्रता श्रेष्ठ, आयुषी ढकाल आदिको अभिनय छ । चलचित्रमा सलोनले एकल बाबुको भूमिका निभाएका छन्, जसकी छोरीको भूमिकामा आयुषी ढकाल देखिएकी छन् ।
दर्शकले यी फरक शैलीका दुई चलचित्रमध्ये आफ्नो रोजाइ अनुसार छनोट गर्न पाउनेछन् । अब, चलचित्रको ‘वर्ड अफ माउथ’ कत्तिको बलियो हुन्छ भन्ने कुराले यसको भविष्य निर्धारण गर्नेछ ।