प्रिमियरमा ‘दुखी आत्मा’ले कस्तो प्रतिक्रिया पायो ?

काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘दुखी आत्मा’को प्रिमियर शो सम्पन्न भएको छ ।
रिलिजको पूर्वसन्ध्यामा बिहीबार साँझ आयोजना गरिएको प्रिमियरमा चलचित्रकर्मी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा पत्रकारहरूको बाक्लो उपस्थितिमा सम्पन्न भएको हो ।
यौन दुर्बलता (इरेक्टाइल डिस्फङ्कसन)बाट पीडित पात्रको वरिपरि घुमेको ‘दुखी आत्मा’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । सिनेमा हेरेपछि ‘दुखी आत्मा’को कथावस्तुलाई लिएर दर्शक तथा समीक्षकहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
चलचित्र हेर्न निर्देशक नविन सुब्बा, ज्ञानेन्द्र देउजा, सुयोग गुरुङ, दीपाश्री निरौला, कलाकार उषा रजग, कथा वाचक साइग्रेस पोखरेल, मोडल उषा उप्रेती लगायतका व्यक्तित्व हल पुगेका थिए । सिनेमा हेरेपछि उनीहले यसले युवा पुस्तालाई हलसम्म तान्ने विश्वास व्यक्त गरे ।
अधिकांशले चलचित्रले उठान गरेको विषयवस्तु मन परेको प्रतिक्रिया दिए । ट्रेलर तथा टिजर सार्वजनिक भएपछि धेरैले यसलाई एडल्ट कथावस्तुमा बनेको सिनेमा भनेर अनुमान गरेका थिए । तर, चलचित्र हेरेपछि यसको कथावस्तु, प्रस्तुति, संवाद तथा कलाकारहरूको अभिनयको तारिफ गर्न भ्याए ।
प्रेम दिवसको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आइसकेको ‘दुखी आत्मा’ले प्रेमको भावनालाई कविताको माध्यमबाट सुन्दर ढंगले प्रस्तुत गरेको छ । साथै, पुरुषहरूले लुकाएर राख्ने यौनसम्बन्धी समस्यालाई खुलेर प्रस्तुत गरे उपचार संभव हुने सन्देश पनि चलचित्रले दिएको छ ।
चलचित्र ‘दुखी आत्मा’ले समाजमा पुरुषहरुले लुकाएर राखेको आफ्नो यौन समस्यालाई खुलेर भन्न सकेको खण्डमा उपचार संभव रहेको तर्क पनि प्रस्तुत गर्छ । उपस्थित प्रायःले उठाउनैपर्ने विषयमा यो चलचित्र बनेको धारणा व्यक्त गरे ।
निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले इरेक्टाइल डिसफङ्सनजस्तो चुनौतीपूर्ण विषयमा चलचित्र बनाउने आँट गरेकोमा निर्देशक लामाको प्रशंसा गरिन् ।
‘फर्की फर्की’ निर्देशक सुयोग गुरुङले यो चलचित्रले गम्भीर विषयलाई हास्य शैलीमा प्रस्तुत गरेको प्रतिक्रिया दिए । यस्तै, अभिनेत्री लुनिभा तुलाधरले पछिल्लो समय फरक-फरक विषयमा सिनेमा बनिरहेकोमा खुसी व्यक्त गरिन् ।

चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दीया मास्के, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।
क्लर्क वर्क क्रिएसनको व्यानरमा निर्माण भएको ‘दुखी आत्मा’का निर्माता हिमाल कडरिया हुन् भने सुदीप ढकाल कार्यकारी निर्माता हुन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।
चलचित्रमा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । ‘दुखी आत्मा’प्रति दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले यसले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।